१३ बैशाख २०८१, बिहीबार
बाँकेमा दिनहुँ फैलिदै दादुरा–रुवेला रोगको संक्रमण

नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा ९ र राप्ती सोनारीमा ७ जनालाई संक्रमण पुष्टी


  • टाइम्स संवाददाता

  • १९ माघ २०७९, बिहीबार ०६:४२

बाँके:बाँकेमा दादुरा–रुवेला रोगको संक्रमण दिन–प्रतिदिन फैलिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म जिल्लामा कुल ३ सय ९ जना बालबालिकामा संक्रमण पुष्टी भएको छ। दादुरा रुवेला संक्रमणबाट सबैभन्दा बढी नेपालगन्जका बालबालिका प्रभावित भएका छन्। उक्त रोगको संक्रमणबाट अहिलेसम्म नेपालगन्जमा एक जनाको मृत्यु भइसकेको छ। कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सबैभन्दा बढी नेपालगन्जमा अहिलेसम्म २ सय १३ जना संक्रमित फेला परेका छन्।

यसैगरी नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा ९ र राप्ती सोनारीमा ७ जनालाई संक्रमण पुष्टी भएको छ। यी मध्ये अहिले १० जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नेपालगन्जका एक जना संक्रमित अस्पताल भर्ना भएका छन्। यसैगरी राप्ती सोनारीका ७ र कोहलपुरका २ जना बालबालिका ‘होम आइसुलेशन’ मा बसिरहेका छन्।

दिनहुँ संक्रमण फैलिरहँदा बालबालिकाहरु निको हुने क्रम पनि चलिरहेको फोकल पर्सन श्रेष्ठले सुनाए। अहिलेसम्म २ सय ९८ जना निको भइसकेका छन्। नेपालगन्जका २ सय ११ जना बालबालिका निको भएका छन्। नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका ७ जना बालबालिका निको भइसकेको कार्यालयले जनाएको छ। ‘नेपालगन्जमा संक्रमण केही कम भएको छ, तर ग्रामिण क्षेत्रतिर बढिरहेको अवस्था छ,’ फोकल पर्सन श्रेष्ठले भने।

दादुरा रुवेला संक्रमण रोक्न ठाउँ ठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। श्रेष्ठले थपे, ‘ठाउँ ठाउँमा खोप कार्यक्रम चलिरहेका छन्, संक्रमण हुने र निको हुने क्रम चलिरहेको छ।’ आजको नागरिक दैनिकमा अर्जुन वलिले खबर लेखेका छन ।

Nabintech