५ जेष्ठ २०८१, शनिबार
कर्णालीबाट हराएका २०९ बालबालिका फेला परेनन्

हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी


  • टाइम्स संवाददाता

  • १९ माघ २०७९, बिहीबार १०:०२

सुर्खेत : कर्णालीमा साढे तीन वर्षको अवधिमा एक हजार २२५ बालबालिका हराएको तथ्यांक सार्वजानिक भएको छ। हराएकामध्ये एक हजार १६ बालबालिका भेटिएका छन् भने २०९ जना फेला नपरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ।

हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ। यो अवधिमा ६६७ बालिका र ५५८ बालक हराएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ३२८  बालबालिका हराएका थिए। तीमध्ये १६२ बालक र १६६ जना बालिका हुन्। त्यसमध्ये १५१ बालक र १५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन्।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३७४ जना बालबालिका हराएका थिए। १३८ बालक र १७६ बालिका हराएकोमा १२५ बालक र १३५ बालिका फेला परेका छन्। ३० बालिका र १३ जना बालक अझै भेटिएका छैनन्। त्यस्तै, २०७८/०७९ मा ४११ जना बालबालिका हराएको प्रहरीको तथ्यांक छ। सो वर्ष १५६ बालक र २५५ बालिका हराएका हुन् । हराएकामध्ये २४० बालिका र १३७ बालक भेटिएका छन् भने १९ बालक र १५ बालिका फेला नपरेको प्रहरीको विवरण छ।

चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ११२ जना बालबालिका हराएका छन्। त्यसमध्ये ४२ बालक र ७० बालिका भेटिएका छन्। ३१ बालक र ४६ बालिका नभेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नभेटिएकामा ११ बालक र २४ बालिका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको बताए। कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय रहेको भन्दै श्रेष्ठले प्रलोभन लैजाने गरेको बताए।

बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहै, घरासी झै–झगडा, अशिक्षा, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमीजस्ता कारण देखिने गरेको प्रहरीले जनाएको छ।  बालबालिकाको सुरक्षा र संरक्षण साझा दायित्व भएकाले यसतर्फ सबै गम्भीर बन्नुपर्ने एसएसपी श्रेष्ठले बताए।

Nabintech