२४ बैशाख २०८१, सोमबार
माओवादीको माओवाद छोड्ने कसरत र जबज

  • निर्मल भट्टराई

  • २७ माघ २०७९, शुक्रबार १०:५३

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले आफूले तीन दशकदेखि अँगाल्दै आएको माओवाद औपचारिक रूपमै छोड्ने कसरत सुरु गरेको छ । व्यवहारिक रूपमा त उसले शान्ति प्रक्रियामा आएर संसदीय निर्वाचनमा भाग लिन थालेदेखि नै माओवाद छोडिसकेको हो ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक लाइनमा सो पार्टी आइपुगेकै हो । दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पार्टीबाट तेस्रो पार्टीमा झरेपछि माओवाद र संसदीय निर्वाचन सँगसँगै जान नसक्ने हुँदा माओवादी पार्टीले माओवाद छोड्नुपर्छ  भन्ने बहस माओवादी पार्टीमा चल्न सुरु भएको थियो । तर माओवाद आफ्नो पार्टीको लाइफ लाइन भएकोले त्यसलाई छोड्न नसकिने प्रचण्डलगायत माओवादीका शीर्ष नेताले बताउँदै आएका थिए ।

अन्ततः माओवाद नेपालमा रबरको हात्तीसरह हुने भएको छ । कथाकार स्लोमिर म्रोजेकले सन १९६२ मा ’हात्ती’ शीर्षकको एक कथा लेखे । कथाको सारांश यस प्रकार छः एउटा प्राणी उद्यानमा सबै प्रकारका वन्यजन्तु राखिएका थिए । तर त्यहाँ हात्ती राख्न सकिएको थिएन । देशको मुक्ति दिवसको दिन सो उद्यानलाई  सरकारले एउटा हात्ती उपहार दिने निर्णय गर्‍यो । उद्यानमा हात्ती आउने खबरले त्यहाँका कर्मचारीहरू बिछट्ट खुसी भए । तर प्राणी उद्यानका कर्मचारी त्यति बेला झन् चकित भए, जति बेला तिनीहरूले उद्यानको कार्यकारी निर्देशकले केन्द्रमा हात्ती किन्न र पाल्न सस्तो तरिका अपनाउन पर्ने आशयको पत्र पठाए । उसको प्रस्ताव थियो, वास्तविक हात्ती किन्न र पाल्न ठुलो खर्च लाग्ने भएकोले र ठाउँको समेत अभाव हुने भएकोले बरु त्यसको ठाउँमा  ठिक साइजको रबरको हात्ती राखिनु उपयुक्त हुन्छ । त्यसलाई हात्तीकै रङ लगाएर रेलिङमा ढड्याएर राखिनेछ । र त्यसको अगाडि एउटा सूचना टाँसिनेछ– ’यो हात्ती लोसे छ’ । वास्तविक हात्ती किन्ने पैसाले जेट किन्न सकिन्छ ।

मन्त्रालयको कर्मचारीले खर्च घटाउने कार्यकारी निर्देशकको उक्त ’राम्रो’ प्रस्ताव तुरुन्त स्वीकृत गरिदियो ।  उद्यानमा रबरको हात्ती बनाउने काम सुरु भयो । यसमा समस्या के थियो भने जनतामा हात्तीको आगमनबारे जानकारी भइसकेको र उनीहरू हात्ती हेर्न बढी नै उत्सुक भएकोले रबरको हात्ती बनाउने काम राती कसैले नदेख्ने गरी गर्नुपर्ने भयो । एउटा गोप्य निर्माण स्थलमा दुई जना कर्मचारी त्यो हात्ती बनाउने रबरलाई दुईतिरबाट फुक्न थाले । घण्टौँ फुक्दा पनि पार नलागेपछि हात्ती फुलाउने उपाय खोज्न थाले । नजिकै ग्याँस पाइप देखेका उनीहरूले हात्तीमा ग्याँस भर्ने विचार गरे । ग्याँस पाइप जोडेको केही मिनेटमै रबरको हात्ती तयार भयो । यो काटीकुटी वास्तविक हात्ती नै थियो ।  भोलिपल्ट बिहान सो हात्तीलाई तयार गरिएको स्थानमा सारियो । हात्ती नजिकै सूचना लेखियो,’निक्कै लोसे हात्ती, प्रायः चल्दैन’ ।

भोलिपल्ट बिहानै एक हुल विद्यार्थी लिएर त्यहाँ एक शिक्षक अवलोकन भ्रमणको लागि आए । हात्तीको बारेमा उनी विद्यार्थीलाई पढाउन थाले ।  ’हात्ती एउटा शाकाहारी स्तनधारी प्राणी हो, यसले आफ्नो सूँडको सहायताले सानातिना रूख तान्छ र पातहरू खान्छ । यो ह्वेल माछापछिको दोस्रो र जमिनमा पाइने सबैभन्दा ठुलो प्राणी हो’ ।  विद्यार्थी खुरुखुरु नोट बनाउँदै थिए । उनीहरू हात्तीले कहिले नजिकैको रूखको हाँगा भाँच्ला भनेर पर्खेर बसे ।

त्यही बेलामा अलिअलि हावा चल्यो, रूखका पात हल्लिए । शिक्षकले भने, ’एउटा पूरा विकसित हात्तीको तौल दशदेखि तेह्र हजार पाउण्ड हुन्छ’ ।

अचानक हात्ती जुर्मुरायो र हावामा उड्न थाल्यो । केही समय त्यो आकाशमै विचरण गरिरह्यो ।  हावा शान्त हुने बित्तिकै हात्ती जमिनमा खस्यो, सिउँडीको झ्याङमा पर्‍यो र हावा खुस्क्यो !

दत्तचित्त भएर हात्तीको बारेमा पढिरहेका विद्यार्थी नोट फालेर गुण्डागर्दीमा उत्रिए । तिनीहरूले टन्न पिए, झ्यालका सिसा फुटाए ।  नेपालमा ‘माओवाद’को हालत त्यस्तै भएको छ ।

चिनियाँ नौलो जनवादी क्रान्तिबाट अति प्रभावित नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपाली धरातलीय यथार्थमा विकसित गराउने नेकपा(एमाले) को २०४९मा सम्पन्न पाँचौँ महाधिवेशनले पास गरेको जनताको बहुदलीय जनवादी विचारको लोकप्रियताको कारण नेपालमा कम्युनिष्ट पार्टी पहिलो पटक सत्ताको नेतृत्व गर्ने हैसियतमा पुगेको थियो । लगभग त्यही समयदेखि फुक्न थालिएको बेलुनको हात्तीरूपी माओवाद  तीन दशकपछि फुट्ने अवस्थामा पुगेको छ । विचार र व्यवहारमा तादात्म्यता राख्न नसके कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने पुनर्पुष्टि भएको छ ।

हाल विभिन्न भङ्गालामा विभक्त कम्युनिष्ट नेताहरूले विचारका चर्का–चर्का कुरा गरे पनि जननेता मदन भण्डारीको दूर दृष्टि,वैचारिक प्रष्टता र विचार र व्यवहारको तादात्यतासँग कसैको तुलनै हुन सक्दैन । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन नेपालका विभिन्न अनुभव नेपालको कम्युनिष्ट आन्दोलनका लागि केवल सन्दर्भ सामग्री हुन सक्छन् तर तिनीहरूलाई यहाँ कपी पेस्ट गर्न सकिँदैन भन्ने पाठ ढिलै भए पनि माओवादी केन्द्रले सिकेको छ । जनताको बहुदलीय जनवादको राजमार्गमा फर्कने विन्दुमा आइपुगेको छ । यो बहुत सकारात्मक छ ।

माओवादी केन्द्रले औपचारिक रूपमा माओवाद परित्याग गरेपछि जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्ने सहमतिसहित पार्टी एकताको प्रयास भए त्यो एकता विगतको जस्तो क्षणभङ्गुर हुने छैन र, समाजवादको यात्रा पनि सहज हुनेछ ।

Nabintech