५ जेष्ठ २०८१, शनिबार
कोहलपुर १४ मा बृहत सरसफाई सम्पन्न

पहिलो चरणमा नगर प्रहरीले आफैँ खटिएर फोहोर फाल्ने काम गर्दै आएको छ


  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १४:५१

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–१४ मा आज बृहद् सरसफाई गरिएको छ । कोहलपुर नगर प्रहरीको आयोजनामा वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाई गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्यक्ष सहभागितामा सरसफाई गरिएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष नमबहादुर आले समेतले झाडु बोकेर सरसफाईमा खटिनुएका थिए । कोहलपुर नगरपालिकालाई सफा सुग्घर राख्ने अभियान अन्तर्गत सरसफाई अभियानलाई ब्यापक बनाउने प्रयासमा आफूहरु रहेको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुरलाई सरसफाई र हरित नगर बनाउने अभियानमा नगरपालिका लागेको पनि जानकारी गराए । नगर प्रमुख आचार्यले सरसफाई गर्ने जिम्मा केवल नगरपालिकाको मात्रै नभएर आम नगरबासीको समेत जिम्मेवारी र दायित्व भएको पनि बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आफ्नो घर वरपर तथा टोलको सरसफाई गर्नु नगरबासीको दायित्व भएको बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालले आफ्नै घर वरपर फोहोरका डंगुरहरु हुँदा पनि सरसफाई गर्न तर्फ अग्रसर नहुनु लाजमर्दो बिषय भएकाले सकेसम्म स्थानीय आफैँले यसको नेतृत्व लिएर आफ्नो टोल तथा बस्तीलाई सफा राख्न सुझाव दिए । कोहलपुर नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष नमबहादुर आलेले आफ्नो वडालाई सफा सुग्घर बनाउने अभियानमा आफुहरु जुटेको बताए ।

उनले वडाबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह गरे । नगरपालिकाले दुई महिना अघिदेखि नै सार्बजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै नगरपालिकाभित्र माइकिङ गर्दै आएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाको भनाई छ । पहिलो चरणमा नगर प्रहरीले आफैँ खटिएर फोहोर फाल्ने काम गर्दै आएको छ । त्यसमा नगरबासीलाई जथाभावी फोहोर नफाल्न सचेत बनाउने काम गरेको छ ।

अर्को पटक भने सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारबाही गर्ने रणनीति नगर प्रहरीले लिएको छ । त्यसको अभ्यास पनि नगर प्रहरीले गर्न सुरु गरिसकेको छ । नगर प्रहरीले सार्वजनिक स्थानमा जथाभावी फोहोर फालेको पाइए ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने गरि कारबाही अभियान सुरु गरेको हो । घरभित्रबाट निस्कने फोहोरलाई पनि कुहिने र नकुहिने गरि छुट्याएर राख्न र नगरपालिकाबाट आउने गाडीमा बिसर्जन गर्न सुझाव नगर प्रहरी प्रमुख थापाको छ ।

Nabintech