५ जेष्ठ २०८१, शनिबार
कोहलपुर नगरपालिकाको कार्यक्रम ‘जनतासँग मेयर’ श्रृङ्खलाः २ पूरा

बास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह


  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०७९, आईतवार १७:३८

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाको जनता र जनप्रतिनिधिलाई जोड्ने कार्यक्रम ‘जनतासँग मेयर’को दोस्रो श्रृङखला पूरा भएको छ । कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर जनताका समस्या, गुणासा र सुझाव सुन्न जनतासँग मेयर कार्यक्रम सुरु भएको हो । नगरपालिकाका पन्ध्र वटै वडामा चल्ने जनतासँग मेयर कार्यक्रमको दोस्रो श्रृङखला आज वडा नं.१५ मा गरिइएको छ । स्थानीय राजनीतिक दल, समाजसेवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेले जानकारी दिनुभयो ।
त्यसक्रममा स्थानीयबासीहरुले विकास निर्माणका सवालमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेका थिए । उनीहरुले आफ्नो वडामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने गरी कार्यक्रम गर्न नगरपालिकालाई सुझाएका थिए । आफ्नो वडाका अधिकांश मानिसहरु कृषि कर्ममा रहेकाले उनीहरुलाई समेट्ने गरी नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरेका थिए । स्थानीय दयाराम विकले कृषिमा अनुदान पहुँचवालाहरुले मात्रै पाउने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
उहाँले बास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह गर्नुभयो । यस्तै अर्का स्थानीय धर्मबहादुर बुढाक्षेत्रीले किसानले समयमै सहज मल तथा विउविजन पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले वडाबाटै मल तथा विउविजन वितरणको व्यवस्था मिलाएर किसानलाई सहज बनाउन आग्रह गर्नुभयो । त्यस्तै अन्य स्थानीयबासीहरुले चौधरिया चोकदेखि ताराको घरसम्म जाने बाटो अलपत्र पारिएको विषयमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यको ध्यानाकर्षण गराएका थिए । स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँले कोहलपुर नगरपालिकालाई सम्बृद्ध बनाउने गरी आफुहरु लागि परेको स्पष्ट पार्नुभयो ।
कोहलपुर नगरमा सन्तुलित विकास गर्ने आफ्नो योजना भएकाले वडा नं.१५ लाई पनि सम्बृद्ध बनाउन तर्फ आफु लागेको उहाँको भनाइ थियो । ‘अन्य वडा भन्दा यो वडा विकासमा पछि पारिएको छ उहाँले भन्नुभयो–‘वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्ने बाटो कालो पत्रे हुनै पर्छ । अन्य बाटोहरुको पनि स्तरबृद्धि हुन्छ । कुनै वडा सम्बृद्ध हुँदा कुनै वडामा समस्या नै समस्या भन्ने हुदैन । सबै वडाको सन्तुलित विकास हुन्छ ।’ उहाँले ठेक्का लिएर समयमा निर्माणको काम पूरा नगर्ने ठेकेदारमाथि कारवाही हुने समेत चेतावनी दिनुभयो । उहाँले अवको पाँच वर्षभित्र कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय छानामुक्त बनाउने नगरपालिकाको योजना रहेको पनि सुनाउनुभयो ।
उहाँले आफ्नो गाउँटोलको विकासमा चासो राख्न स्थानीयबासीलाई समेत सुझाव दिनुभयो । वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रख विश्वनाथ थारु लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
Nabintech