१२ श्रावण २०८१, शनिबार
देशकै ठूलो सरकारी बगैँचा : जहाँ ढकमक्क फुलेका छन् ६ हजार आँपका बोट

यस वर्ष ३ करोड आम्दानी हुने अनुमान


  • टाइम्स संवाददाता

  • १ चैत्र २०७९, बुधबार १३:०५

सर्लाही:सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो।  एक सय ८५ दशमलव पाँच हेक्टर (करिब ३ सय बिघा) क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा करिब ६ हजार आँप र ६२१ वटा लिचीका बोट छन्। केन्द्रमा आँपका मात्रै ३५ प्रजातिका बोट छन्।  बागबानीमा यस वर्ष इतिहासकै सबैभन्दा उन्नत ढंगले आँप फुलेको केन्द्र प्रमुख रामकुमार यादवले बताए।

 

 

‘यो बगैँचामा यो ढंगले यसअघि कहिल्यै आँप र लिची फुलेको थिएनन्,’ आँप बगैँचा डुल्दै गर्दा यादवले भने, ‘हामीले बगैँचा व्यवस्थापनमा गरेको मेहनतको प्रतिफल यस वर्ष राम्रै हुने अनुमान गरेका छौँ।’ उनले यस वर्ष केन्द्रले आँप बिक्रीबाट झण्डै ३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरे।

‘यो बगैँचाबाट अहिलेसम्म एक वर्षमा बढीमा सवा करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको रेकर्ड छैन,’  यादवले भने, ‘तर यस वर्ष आँप र लिचीका सबैजसो बोट झपक्कै फुलेका छन्। हाम्रो अनुमान यस वर्ष यहाँबाट झण्डै ३ करोड रुपैयाँ आम्दानी हुन्छ भन्ने छ।’

उनले आफू केन्द्रको प्रमुख बनेपछि बगैँचा व्यवस्थापनमा विशेष ध्यान दिएको बताए। ‘हामीले आँप, लिचीलगायत फलफूलका बोटको गोडमेल, मलपानी र औषधि उपचारमा यस वर्ष निकै मेहनत गर्‍यौँ,’ यादवले भने, ‘यो आकर्षक फुलाइ त्यसैको प्रतिफल हो।’

 

उनले आँपको प्रकृति एक वर्ष फल्ने र एक वर्ष नफल्ने खालको हुने बताए।  ‘यस वर्ष आँप फल्ने वर्ष पनि भएकाले यहाँका सबैजसो आँप र लिचीका बोटमा यस वर्ष झपक्कै फूल लागेको छ। मलाई लाग्छ- यस वर्ष हामी यहाँबाट इतिहासकै सबैभन्दा धेरै राजश्व सरकारलाई बुझाउने छौँ।’

 

 

विगतका वर्षमा केन्द्रमा जतिसुकै आँफ फले पनि एउटै ठेकेदारलाई ठेक्का लगाउने गरिएको थियो। तर, यस वर्ष तीनवटा ब्लक निर्धारण गरेर फरक-फरक ठेकेदारलाई आँप र लिचीको बगैँचा ठेक्का दिने तयारी केन्द्रले गरेको छ।

केन्द्रले यस वर्ष आँपको फूल र फलमा औषधि र विषादी छिट्न झण्डै २४ लाख रुपैयाँ खर्च गरेर आधुनिक मेसिनसमेत खरिद गरेर ल्याएको छ।  जमिनबाट ६० फिट उचाइसम्म सजिलै औषधि छिट्न सकिने यो मेसिन नेपालमै पहिलोपटक प्रयोग भइरहेको यादवको दाबी छ।

 

आँपका फूलमा औषधि छिट्दै प्राविधिक।
Nabintech