१२ श्रावण २०८१, शनिबार
घरबाट गोठ हटाउन बारेकोटवासीलाई गाउँपालिकाको अनुदान

गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्य समेत प्रतिकूल असर पर्ने


  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १०:५०

जाजरकोट : माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर जीवनयापन गरिरहेका जाजरकोट बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन्। मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो।  गोठ निर्माणका लागि एक लाख रुपैयाँसम्म रकम माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

बारेकोट गाउँपालिकामा अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपाया पालनको लागि गोठ रहने गरेको छ। गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्य समेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीले बताए। बारेकोट गाउँपालिकामा ३तीन हजार ५५७ घर घरधुरी छ।

वर्षायाममा पाटनतर्फ र हिउँदमा घर वरिपरी रहेको पाखामा रहेको घाँस खुवाएर पशुचौपायापालन हुने गरेको छ। अहिले पालिकामा रहेका गरिब पशुपालक किसानको तथ्यांक संकलन गर्ने काम सुुरु भएको छ। सुरुमा बारेकोट गाउँपालिका–१ सिल्पाचौरको पुनगाउँबाट कार्यक्रम लागू गर्ने पालिकाले जनाएको छ। सुरक्षित गोठ निर्माण भएसँगै पशुपालन व्यवसाय समेत फस्टाउने गाउँपालिकाको विश्वास छ।

अलग गोठ निर्माण भएमा मानव स्वास्थ्यलाई समेत सहयोग पुग्ने अपेक्षा रहेको छ। गोठ र घर छुट्याएपछि मात्र यहाँको स्वास्थ्य अवस्था थप राम्रो हुने पालिकाले जनाएको छ। पशुचौपायाको मलमूत्रको गन्ध माथिल्लो तलामा आउनुका साथै घर भित्र जाँदा र आउँदा समेत प्रतिकूल असर पर्ने गरेको छ। यही समस्या बुझेर आफैँ गोठ बनाउन नसक्ने सर्वसाधारणलाई गाउँपालिकाले अनुदान दिने नीति लिएको छ। भर्खरै मात्र पालिकामा सडक सञ्जाल जोडिएका कारण यहाँ आधुनिक घर निर्माण भएका छैनन्।

आर्थिक रूपमा सक्षम भएको, रोजगारी भएको परिवारलाई भने गोठ आफैँ बनाउन लगाउने नीति गाउँपालिकाले लिएको छ। गोठ सुधार अभियानलाई प्रभावकारी बनाएमा मात्र पशुपालन व्यवसाय समेत फस्टाउने गाउँपालिकाले जनाएको छ। पालिकाले अहिले पशु शाखा मार्फत विभिन्न कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ। गरिब तथा विपन्न वर्गका किसान लक्षित कार्यक्रम पालिकाले सञ्चालन गरिरहेको छ।

Nabintech