११ बैशाख २०८१, मंगलवार
बाँकेमा डढेलो नियन्त्रणका लागि वन डढेलो ‘दस्ता’ निर्माण गरिने

बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने


  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १६:२३

नेपालगञ्ज : बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ ।कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायकोे सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए । “डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ”, उनले भने । उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन हुने जानकारी दिँदै त्यसबाट विभिन्न सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम हुने बताए ।

उनले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने जनाए । सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायतका सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ ।

बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको जिल्ला वन कार्यालयले शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सतर्कता अपनाएको छ ।

जिल्लाको राप्तीसोनारीको पूर्वी क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट शुरु गरिएको छ ।

Nabintech