८ बैशाख २०८१, शनिबार
दाङबाट काठमाडौं उडेको सीता एयरको जहाज अन्तै लागेपछि…

विमान काठमाडौंको रुटमा नउडेर अन्यत्रै लागेपछि यात्रुहरू के भयो भनेर आत्तिएका थिए


  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७९, बिहीबार ०५:५२

दाङ :  दाङको  तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान उडेको सीता एयरले यात्रुलाई नेपालगञ्ज पुर्‍याएपछि यात्रुहरू बिलखबन्दमा परेको गुनासो यात्रुहरूले गरेका छन्। विमान काठमाडौंको रुटमा नउडेर अन्यत्रै लागेपछि यात्रुहरू के भयो भनेर आत्तिएका थिए।

त्यही सीता एयरको विमानमा चढेका तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत झरेन्द्र खरेलले रुट फरक परेपछि नजिकै रहेकी एयरहोस्टेसलाई कहाँ लग्न लागेको भनी सोधपुछ गर्दा नेपालगञ्ज जान लागेको जानकारी  दिएको उनले बताए।

पूर्व जानकारी बिना यसरी नेपालगञ्ज लगिनु धेरै नै लापरबाही भएको उनको भनाइ छ। नेपालगञ्जको राँझा एयरपोर्टमा अलपत्र अवस्थामा यात्रुहरू छोडेपछि केही समयपछिको भनाभनपछि कोही बुद्ध एयर र कोही श्री एयरबाट काठमाडौं गएको उनले बताए।

उनका अनुसार विमानका कर्मचारीले सिमीकोट हुम्ला आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाज त्यता उडेको थियो। उनले भने, ‘बिहान ९ बजे एयरपोर्ट बोलाएको थियो। १४ जना यात्रु लिएर दाङबाट बिहान ११ बजे उडेको सीता एयरको जहाज सवा ११ मा नेपालगञ्जको राँझा विमानस्थलमा अवतरण गरेको थियो। हामीलाई एयरपोर्टमै छाडेर जहाज हुम्ला गयो। हुम्लाबाट आएर हामीलाई काठमाडौँ लैजाने भनेको थियो। हामीले  विरोध गरेपछि हामीलाई अरु जहाजमा काठमाडौं पठायो। दाङबाट ८ हजारको टिकट थियो‚ म नेपालगञ्जबाट बुद्ध एयरमा काठमाडौं गएँ। त्यसको टिकट ५५ सय थियो। त्यो उसैले दिएको छ।’

बुद्ध एयरको पौने १२ बजेर उड्ने भनेको जहाज पनि साढे १ बजेमात्र उडेको उनको भनाइ छ। उनले भने, ‘काठमाडौं दिउँसो साढे २ बजे पुगियो। सीता एयरलाई नै पर्खेर बसेको भए बिहान ९ बजे एयरपोर्ट बोलाएको यात्रुलाई बेलुका ६ बजे ल्याउने रहेछ। छिटो छरितो यात्राका  लागि यात्रुहरूले हवाई यात्रा गर्छन् तर सीता एयरले यसरी यात्रुहरूलाई दुःख दिनु गैरजिम्मेवारीको पराकाष्ठा हो।’

उनले केही समयअगाडि सीता एयरका प्रबन्ध निर्देशकले दाङ आएर यात्रुलाई सेवा दिने भनेर वचन दिएको तर अहिले यात्रुहरूलाई दुःख दिएको बताए। उनले दाङका जनतालाई जे गरे पनि हुन्छ भन्ने ठानेर सीता एयरले यस्तो गरेको बताए।

सीता एयरले सोमबार, बुधबार र शनिबार टरिगाउँ एयरपोर्टबाट उडान गर्दै आएको छ। दाङबाट नेपाल एयरलाइन्सले अहिले हप्ताको ४ दिन उडान गरिरहेको छ।

Nabintech