१५ बैशाख २०८१, शनिबार
राप्तीसोनारी बाँकेका कुसारी भारतमा बेपत्ता

उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे वा कता गए भन्ने बारेमा केही पनि पत्ता लाग्न सकेको छैन


  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७९, बिहीबार १७:४९

नेपालगञ्ज : मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् । बाँकेको राप्तीसोनारी ८ का ६१ वर्षीय धनबहादुर कुसारी भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट फागुन १३ गतेबाट बेपत्ता भएको कुसारीका आफन्तले जनाएका छन् ।

कोटखाइस्थित बागी भन्ने ठाउँबाट घर जान्छु भनी हिँडेका कुसारी एक्कासि बेपत्ता भएको उनकी पत्नी खैरे कुसारीले बताइन् । उनका अनुसार बागीमा मजदुरी गरिरहनुभएका पति कुसारी फागुन १३ गते (फेब्रुअरी २४ ) घर जान्छु भनी त्यहाँबाट हिँडेपछि परिवारको सम्पर्कमा आएका छैनन् । भारतमा पुगेर थुप्रै ठाउँमा उहाँको खोजी गरिए पनि हालसम्म कुनै पत्तो लगाउन नसकिएकाले खोजीमा सहयोग गरिदिन सबैसँग कुसारी परिवारले आग्रह गरेको छ ।

सामान्य अवस्थामा रहेका कुसारीको परिवारले उनको खोजीमा गत चार महिनादेखि धेरै खर्च र दौडधुप गरे पनि फेला पार्न नसक्दा अति नै पीडामा छ । परिवारका अनुसार यस अघि भारतमा मजदुरीका लागी पटक पटक जाने गरेका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनी बागीबाट हिँड्का थिए । उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे वा कता गए भन्ने बारेमा केही पनि पत्ता लाग्न सकेको छैन ।

कुसारीको परिवारले माइती नेपालको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा पनि घटनाबारे जानकारी गराएर खोज्नका लागि निवेदन दिएका छन् । माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारतीय प्रहरीलाई सम्पूर्ण विवरण दिएर समन्वय गरिएको बताए ।

कुसारीलाई भारतमा कसैले कतै फेला पारेमा नेपालस्थित मोबाइल नम्बर ९७४९८९८२३० वा ९८६४९२९८४१ वा माइती नेपालको कार्यालयमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले सबैसँग आग्रह गरेको छ । सो घटनाबारे बाँके प्रहरीलाई पनि जानकारी गराएर भारतीय प्रहरीसँग समन्वय गरी खोजीका लागि समन्वय गर्न आग्रह गरिएको बेपत्ता कुसारीकी श्रीमती खैरे कुसारीले बताइन् ।

Nabintech