१२ श्रावण २०८१, शनिबार
बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन बन्दै

सब स्टेशन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुने


  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १५:२८

नेपालगञ्ज : बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ । जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । सब स्टेशन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुनेछ ।

खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३/११ केभी क्षमताको सन स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो भोल्टको डबल सर्किट विद्युत् प्रवाह हुनेछ ।

“खजुरामा निर्माण गरिने सब स्टेसनमा १६/१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ,” नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले भने, “११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ । ”सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ ।

यसैगरी जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ । जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ । खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत् आउने जाने र बर्षातको समयमा विद्युत् अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ ।

सवस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दिर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ । हाल नेपालगञ्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेशन छन् । नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत् आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने नोलाइट शाखा प्रमुख पौडेलको भनाइ छ ।

Nabintech