२९ असार २०८१, शुक्रबार
घरेलुहिंसा पीडित गंगाले पाईन नगरबाट पचास हजार सहयोग

जघन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनुपर्ने


  • टाइम्स संवाददाता

  • ३ बैशाख २०८०, आईतवार २०:०२

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगपालिका वडा नं.२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गत माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आज एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताईन । उनले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान गरीन ।

घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने बताउदै कार्यबहाक नगर प्रमुख सुबदीले कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरिन । घरेलु हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने गरी नगरपालिका लागिरहेको पनि बताएकी सुबृदीले सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई आयआर्जनमा केन्द्रीत गराउने गरी आफुहरुले योजना बनाइरहेको जिकीर गरिन ।

वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गर्दै गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको चर्चा गरे । उनले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको समेत औंल्याए ।

कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जघन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनुपर्ने भन्दै बिश्वकर्माले घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको बताए ।

पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले खुसी व्यक्त गरेकी छिन उनले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत ब्यक्त गरिन । भानुभक्त अहिले पूर्पक्षका लागि कारागारमा चलान भएका छन ।

Nabintech