२० बैशाख २०८१, बिहीबार
खजुरालाई फुसको छानारहित पालिका बनाउने अभियान शुरु

१५७ परिवारले फुसको छाना हटाउन आवेदन


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार १४:०८

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सो अभियानअन्तर्गत चालु आर्थिक वर्षमा १५७ घरधुरीमा फुसको छाना हटाएर टिनको छाना लगाउन सहयोग गर्ने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

उनले केही समय अघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरिएकोमा १५७ परिवारले फुसको छाना हटाउन आवेदन दिएको बताए । आवेदन दिएका परिवारलाई टिनको छाना लगाउनका लागि गाउँपालिकामा आएर सम्झौता गर्न जानकारी गराइएको पनि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

चालु आर्थिक वर्षमा खजुराले फुसको छाना हटाई टिनको छाना लगाउन ८० लाख रुपियाँको बजेट छुट्टाएको गाउँपालिकाले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणमा १५७ वटा घरमा टिनको छाना लगाउने गरी सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । उनले वडा नम्बर १ बाट ५० परिवारको निवेदन आएकोमा सबैभन्दा पहिले सोही वडाका १६ परिवारलाई सम्झौताका लागि बोलाइएको बताए ।

सोही प्रकारले वडा नम्बर २ बाट ११० वटा आवेदन परेकोमा २४ जनालाई, वडा नम्बर ३ बाट ६१ वटा आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ४ बाट ७२ जनाको आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ५ बाट ८३ जनाको आवेदन परेकोमा २० जनालाई, वडा नम्बर ६ बाट १५८ जनाको आवेदन परेकोमा २९ जनालाई, वडा नम्बर ७ बाट ६५ जनाको आवेदन परेकोमा १८ जनालाई, १८ गते र वडा नम्बर ८ बाट २४ जनाको आवेदन परेकोमा १३ जनालाई सम्झौताको लागि पालिकामा बोलाइएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र रहेका सबै घरलाई फुसको छानामुक्त बनाउने लक्ष्यसहित कार्य सुरु गरेको जानकारी दिदै खजुरा गाउँपालिकाका अध्यक्ष विकले यस पटक पालो नपाएकालाई अर्को वर्ष प्राथमिकतामा राखिने बताए । उनले केही समय भित्रै पालिका भित्रका सबै घर फुसको छानामुक्त हुने बताए ।

Nabintech