२३ बैशाख २०८१, आईतवार
कोहलपुर वडा नं. ७ का जनता र जन प्रतिनिधिबिच सवाल जवाफ

स्थानियहरुले बाटो, पुल, खानेपानी, शिक्षा ,स्वास्थ्य, सुरक्षा, कृषि पर्यटन जस्ता बिषयहरुमा सवालहरु राखेका थिए


  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८०, शनिबार १७:३२

 कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिका र बाँकेबाट संघ प्रदेश र स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिबिच कोहलपुरको वडा नं. ७ को कार्यालयमा सवाल जवाफ कार्यक्रम सम्पन्न भएको छ ।

जितेर प्रदेश र संघमा गएपछि जनाताले बोकेका थप अपेक्षाबारे बुझन गएका लुम्बिनी प्रदेश सांसद बसन्ति अधिकारी, संघिय सांसद सुर्य प्रसाद ढकाल र स्थानिय जनताबिच सवाल जवाफ कार्यक्रम सम्पन्न भएको हो ।

सवाल जवाफको चाजोपाँजो विकासका साझा धारणा प्राथामिकताका क्षेत्रहरु भन्ने बिषयमा विकास,संवाद, संबृद्धिको बाटोले मिलाएको थियो । स्थानियहरुले बाटो, पुल, खानेपानी, शिक्षा ,स्वास्थ्य, सुरक्षा, कृषि पर्यटन जस्ता बिषयहरुमा सवालहरु राखेका थिए भने सांसदहरुले जवाफ दिएका थिए ।

विकास,संवाद, संबृद्धिको बाटो नामक संस्थाका अध्यक्ष माया गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी एबं संघिय सांसद सुर्य प्रसाद ढकालले बजेट निर्माणको संघारमा उचित ठाउमा उचित कार्यक्रम गरेको भन्दै कार्यक्रममा उठेका आवाजहरुलाई आफुले टिपोट गरेको र कुन तहबाट कसरी सम्बोधन गर्ने भन्ने बिषमा आफुले पहल गर्ने बताए ।

कोहलपुरको दुर्गम भनेर चिनिने वडा नं. ७ को विकासका लागि आफुले खाका तयार पारेको उल्लेख गर्दै सांसद ढकालले तिनै तहबाट स्थानिय, प्रदेश र संघिय सरकारको जोडबलले मात्र यहाका जनताका आकांक्षा पुरा गर्न सकिने भन्दै तत्कालका आबश्यकता खोजि योजनाहरु अघि सारीने बताए ।

अहिले लखना क्षेत्रमा खानेपानी, पुल, सिचाई तथा तटबन्धको मुख्य समस्या रहेको पाइयो भन्दै केहि योजना कार्यान्वयनको चरणमा रहेका भएपनि खानेपानीकालागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

लुम्बिनी प्रदेश सांसद बसन्ति अधिकारीले टिनको छानामुनि दुई कोठाबाट स्वास्थ्य सेवा दिईरहेको अबस्थाले वडाको समपुर्ण समस्या झल्किने भन्दै मान्छेको स्वास्थ्य जस्तो बिषयलाई जति सक्दो स्तर उन्नत सहितको स्वास्थ्य संस्था निर्माणमा आफुले सहकार्य गर्ने बताईन । आगामि बर्षको बजेट जति सक्दो बढि पार्न आफुले पैरवि र लबिङ्ग गर्ने भन्दै वडाका संभाबित योजनाहरुलाई ड्राफट गर्न समेत वडा अध्यक्षलाई अनुरोध गरिन ।

म देखिने गरि विकासका योजना ल्याउने पक्षमा छु, विकासमा राजनिती र बिभेद मबाट हुदैन भन्दै वडाबासि समेत सम्पन्न तथा आत्मनिर्भर बन्न सामुदायिक वनका खालि जग्गाहरुमा सामुहिक खेती , घरबास सञ्चालन गर्न वडाबासिमाझ आग्रह गरिन ।
वडा नं. ७ का वडा अध्यक्ष ठग्गा थारुले आफनो वडामा ५५ लाखको बजेटले वडामा ग्राभेल खसाउन समेत सकिने स्थिती नरहेको भएपनि केहि स्थानहरुमा पिच बाटो निर्माण भईरहेको, सिक्टासंगको सहकार्यमा डुडुवामा तटबन्धको सम्झौता तथा टेण्डर भएको भन्दै तत्कालको मुख्य समस्या बिद्युतको भोल्टेज कमि र खानेपानी रहेको बताए ।

जमिनको सतहबाट पानी नआउदा वडाले समेत जारको पानी प्रयोग गर्न बाध्य भएको भन्दै वडा अध्यक्ष थारुले खेतीपातीबाट वडालाई कसरी आत्मनिर्भर बनाउने भन्ने चिन्ताले सताएको उल्लेख गरे । कोहलपुर १४ र ८ देखि ७ जोडने पक्कि बाटो, ८ कक्षा सम्म सञ्चालित लखना स्कुलको स्तर उन्नती र भवन अत्याबश्यक भएको भन्दै थारुले नगरपालिकाले समेत आफनो वडालाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरिदिनुपर्नेमा जिकिर गरे ।

विकास,संवाद, संबृद्धिको बाटाका उपाध्यक्ष उर्मिला पाण्डेको स्वागत मन्तब्य संगै प्रारम्भ सवाल जवाफ तथा अन्तक्रिया कार्यक्रममा नेकपा एमाले नगर कमिटिका अध्यक्ष नम प्रसाद शर्मा, नेपाली कांग्रेस वडा नं. ७ का सभापति ओम प्रकास श्रेष्ठ, राप्रपाका वडा अध्यक्ष जंगलि थारु लगायतले मन्तब्य राखेका थिए ।

बिभिन्न सामुदायिक बनका प्रतिनिधि, शिक्षक, बागेश्वरी बहुमुखि क्याम्पस स्ववियु सभापति , किसान मजदुर लगाएत गरि ५ दर्जन बढिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन विकास,संवाद, संबृद्धिको बाटाका सचिव मिना कुमारी बिसिले गरेकी थिईन ।

Nabintech