५ जेष्ठ २०८१, शनिबार
राप्तीसोनारीमा मोटरसाइकल ठोक्किँदा चार घाइते, दुई गम्भीर

घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार हुदै


  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार ०९:०१

नेपालगन्ज: बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँएका छन् ।  मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरु मध्ये  दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा गए राती ८ बजे बिनौनादेखि बैजापुर तिर जाँदै गरेको  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर र चिलहरियादेखि दक्षिणतर्फ जादै गरेको भे ९ प ६८८७ नम्बरको  पल्सर  मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर मोटरसाइकल चालक राप्तीसोनारी ४ का स्थानीय  ३७ वर्षीय शिव रावत , भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल सवार तीन जना सोही गाउँपालिकाको वडा नं. ५ का १७ वर्षीय संगीत वैश्य, १७ वर्षीय मनिष कार्की र १८ वर्षीय धिरज डाँगी रहेका छन् ।

घाइतेहरु मध्ये पल्सर मोटरसाइकल सवार संगीत वैश्य र स्पेलेन्डर मोटरसाइकल चालक रावत गम्भीर घाइते भएका छन् । उनीहरुको सबैको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते रावत सशस्त्र प्रहरी बल नं.३० गणमा कार्यरत रहेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुरले दुईवटै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

Nabintech