२१ बैशाख २०८१, शुक्रबार
नक्कली रुपैयाँ छापेर नेपाल पठाउने काममा संलग्न पाँच पक्राउ

नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो


  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार १३:५०

नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो ।

रुपईडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिएको जानकारी अनुसार रुपईडिहा नजिकै नक्कली रुपैयाँ छाप्ने र बिव्रmीवितरण गर्ने सूचनाका आधारमा बहराइच एटिएस र रुपईडिहा प्रहरीले संयुक्तरूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो ।

उनले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपैयाँ र पाँच हजार नक्कली नेपाली रुपैयाँसहित पैसा छाप्ने मेशिन, ल्यापटप, प्रिन्टर र कैँची बरामद गरिएको बताए ।

पक्राउ परेकामा लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ ।

बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशान्त वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराइच कारागारमा पठाइएको बताए ।

Nabintech