६ जेष्ठ २०८१, आईतवार
नेपालगञ्जमा प्रहरी कुट्नेलाई कानुन बमोजिम कारबाहि गर्न प्रहरी उदाशिन

घाईतेहरुको अबस्था गम्भिर नभएको भन्दै बर्दिमा रहेका प्रहरी कुटिएका प्रति उच्च प्रहरी किन उदारबादि !


  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८०, आईतवार १०:०७

नेपालगन्ज : नेपालगन्जमा एक जना ट्राफिक प्रहरी ड्युटीमै कुटिएको घटना बाहिर आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा शुक्रबार ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटी स्थलमै कुटिएका हुन् ।

आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताएका छन् । बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपरान्ह साढे ३ बजेतिर परस्पुर पुगेका थिए । उनका अनुसार पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प  १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आयो ।

मोटरसाइकलमा थिए, स्थानीय मेराज शेख । हेलमेटबिना मोटरसाइकल कुदाइरहेका मेराजले अगाडि  ट्राफिक चेकिङ भइरहेको देखेपछि हतारहतार मोटरसाइकल फर्काए र तीव्र गतिमा कुदाए । कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको देखेपछि बस्नेत सहितको टोली उद्धारका लागि मेराज लडेको स्थानमा पुगेका थिए । मोटरसाइकल सहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले सुनाए ।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथि प्रहार गर्न थालेको बताए । स्थानीयले घरेलु हतियारले आक्रमण गर्दै लखेटेपछि उनीहरू सडकबाट तल रहेको खेततर्फ भागेका थिए । खेतमा खसेका दुबैलाई पुनः खेतैखेत लखेटेको भिडिओ समेत सार्वजनिक भएको छ ।

आइएम युवराज नामका टिकटक प्रयोगकर्ताले राखेको उक्त भिडिओ अहिले टिकटकबाट हटाइएको छ । ज्यान बचाउन भाग्दै गरेका उनीहरूलाई प्रहरी पोष्ट अगाडि पुगेपछि मात्रै स्थानीयले कुटपिट गर्न छोडेका थिए । स्थानीयको आक्रमणबाट प्रहरी सहायक निरीक्षक बस्नेतको हातमा र प्रहरी जवान मानबहादुर ठगुन्नाको हात र खुट्टामा चोट लागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीहरूमाथि आक्रमण भएको र घाइतेहरूको अवस्था गम्भीर नभएकोले कारबाहीबारे नसोचिएको बताए ।ट्राफिक प्रहरीमाथी कुटपिट गर्नेलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले चासो नदिएको पीडितको गुनासो छ ।

Nabintech