६ जेष्ठ २०८१, आईतवार
बाँके कोहलपुर सहित सात जिल्लाबाट लागूऔषधसहित १४ जना पक्राउ

२६ वर्षीय अक्ष कुमार थारु मदनचोकबाट पक्राउ


  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८०, आईतवार १३:०३

काठमाडौं : देशका सात जिल्लाबाट लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेश जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोसहित भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने २२ वर्षीय समिर दर्जी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका-१८ मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो।

Nabintech