६ जेष्ठ २०८१, आईतवार
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलले आज अदालतमा अभियोजन दर्ता गर्ने

घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ


  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०८०, बुधबार ०६:५९

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ। अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरेको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। ‘बुधवार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ’,उनले भने।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।

घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन्। अरु १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। प्रहरीका अनुसार ठगी, राज्यविरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ। घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए।

घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ। बुधबार नै ६० दिन पुग्दैछ। घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए। सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई पक्राउ परेका छन्। यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि अनुसन्धानका लागि हिरासतमा छन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरज सहितका १७ जना फरार छन्।

 

Nabintech