काठमाडौँ : सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने तयारी गरेकाे छ ।सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ समेत नआउँदै सरकारले राष्ट्रपति कार्यालयलाई सजाय माफीकाे सिफारिस गरेकाे हाे ।
सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगिसकेकाे छ । चौधरीको निवेदन लिएर बुधबारै राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संविधान र कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका थिए ।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीलाई बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको बताउनुभयाे । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ ।
२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय पाएका छन् । जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।