११ बैशाख २०८१, मंगलवार
अपस्तालका डाक्टर खड्काको निजी चालक कसरी बने अधिकारी

सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार यो घटना भएर मात्रै बाहिर आएको दाबी गर्छन


  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८०, शनिबार १५:१२

नेपालगञ्ज : तीन दिनअघि १७ जेठमा बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मा कार र यात्रुवाहक बस एकआपसमा ठोकिए । तीव्र गतिका कारण भएको दुर्घटनामा परी बा१३च ८२५३ नम्बरको कारचालक र कारमा सवार यात्रुको दुर्घटनास्थलमै मृत्यु भयो ।

कार मे १ ख ३३३५ नम्बरको बससँग ठोकिएको थियो । बसमा सवार ६ जना भने सामान्य घाइते भए । उनीहरू सबै घर फर्किसकेका छन् । कारमा सवार सुवास अधिकारी र कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. सञ्जु खड्काले भने दुर्घनास्थलमै ज्यान गुमाएका हुन् ।

डा. खड्का सवार कार काठमाडौंबाट सशस्त्र प्रहरी बलमा कार्यरत कामु हवल्दार गोरखाका सुवास अधिकारीले हाँकेका थिए । दुर्घटनापछि ज्यान गुमाएका सशस्त्र प्रहरी बलका चालक अधिकारी कसरी अपस्तालका डाक्टर खड्काको निजी चालक बने भन्ने प्रश्न उब्जिएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ ले बहालवाला तथा पूर्वपदाधिकारीमध्ये निश्चितलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनसहितको चालक सुविधा दिने व्यवस्था गरेको छ ।

मृतक डा. खड्का सशस्त्र प्रहरी बलको चालक सुविधा पाउने विशिष्ट÷पूर्वविशिष्ट व्यक्ति होइनन् । उनी चालक अधिकारीका आफन्त पनि पर्दैनन् । डा. खड्काले सशस्त्र प्रहरी बलको चालक सुविधा पाउनुको नाभी भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जोडिएको छ ।

खड्का १६ असार २०५६ देखि ७ चैतसम्म गृहमन्त्रीसमेत भएका थिए । दुर्घटनामा परी ज्यान गुमाएकी डा. खड्का उपप्रधानमन्त्री खड्काकै सहोदर भाइ डा. डम्बरबहादुर खड्काकी श्रीमती हुन् ।

डम्बरबहादुर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले अधिकारीलाई पूर्णबहादुर खड्काका लागि पूर्वगृहमन्त्रीको हैसियतमा यसअघि पठाएको स्वीकार गरे ।

‘हामीले पूर्वविशिष्ट पदाधिकारीको हैसितले उनी मात्रै होइन, अन्यलाई पनि त्यसरी नै पठाएका थियौँ । तर, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लागू भएपछि भने अधिकांश फिर्ता बोलाएका थियौँ । अधिकारी अझैसम्म कसरी खड्का परिवारसँगै जोडिए, हामीले खोजी गर्दै छौँ,’ एसएसपी खड्काले भने ।

उसो त सत्ता, शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर सुरक्षाकर्मीको दुरुपयोग भएको भन्दै १२ पुस २०७९ मा गृह मन्त्रालयले ४८ घण्टाभित्र फिर्ता गराउन निर्देशन नै गरेको थियो ।

सो निर्देशनपछि प्रधानमन्त्री कार्यालयले एकैपटक सशस्त्र प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता गरेको थियो । तर, अधिकारीको मृत्यु प्रकरणले भने सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दुरुपयोगको शृंखला उदाङ्गिएको छ ।

तर, सशस्त्रका एसएसपी खड्काले कार्यविधिअनुसार नै सशस्त्रका कर्मचारी खटिएको दाबी गरे । उनले भने, ‘हामीले कार्यविधिअनुसार नै चालक होइन, सुरक्षाकर्मी भनेर खटाएका छौँ । अधिकारीको हकमा उनको दरबन्दी रमाना कहाँ बुझेको छ ? त्योबारेमा पनि हामी हेर्छाैं ।’

तर, सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार यो घटना भएर मात्रै बाहिर आएको दाबी गर्छन् । ‘हाम्रो संगठनका धेरै चालक र सुक्षाकर्मीको दुरुपयोग भएको छ । यो दुर्घटना भएर मात्रै बाहिर आयो । यस्ता धेरै छन् । कतिपय पूर्वविशिष्ट व्यक्तिहरू सुरक्षाकर्मी फिर्ता गरिदिनू भन्दा पनि अटेर गरेर पठाउँदैनन् । कतिपय हाम्रै हाकिमका नजिकका मान्छेका घरमा पनि पठाएका हुन्छन्,’ ती अधिकारीले भने । सेना र प्रहरीको तुलनामा सशस्त्र प्रहरीका कर्मचारी बढी दुरुपयोग हुने गरेका छन् ।

Nabintech