५ जेष्ठ २०८१, शनिबार
दैलेखमा लोपोन्मुख राउटे समुदायका एक जेष्ठ सदस्यको निधन

जनसङ्ख्या घट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको सरकारी तथ्यांक


  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८०, बुधबार १०:१७

दैलेख: लोपोन्मुख राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको आज बुधवार निधन भएको छ । सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उनको निधन भएको हो ।

राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने चलन रहिआएको छ । जनसङ्ख्या घट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको सरकारी तथ्यांकले देखाउँछ ।

दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता समेत अहिलेसम्म लिएका छैनन् । खेती किसानी, पढाइ लेखाइ गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भन्दै उनीहरुले अस्वीकार गर्दै आइरहेका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरेको छ ।

राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालनमा ल्याएको हो । सामाजिकीकरण सवालमा काम गर्न जोडी शिक्षकमा लालबहादुर खत्री, दुर्गा खत्री दम्पति स्वास्थ्य उपचार र परामर्शका लागि अनमी अमृता रोकाय र अहेब बिनोद बीसीले कार्य गर्दै आइरहेका छन् ।

परियोजनापछि बालबालिकाहरुले अङ्क र अक्षेर लेख्ने स्वेच्छिक अभ्यास गर्ने गरेका छन् भने कुनै घाउ अथवा चोटपटक वा बिसञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास गराउने गरिएको छ ।

Nabintech