१६ बैशाख २०८१, आईतवार
बाँकेमा लम्पी स्किनविरुद्धको खोप अभियान तीब्र

खजुरा, जानकी, बैजनाथ र कोहलपुरमा सबैभन्दा बढी पशु चौपायामा लम्पी स्किन


  • टाइम्स संवाददाता

  • १० श्रावण २०८०, बुधबार १४:३२

नेपालगञ्ज : बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तीव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलो गरी प्राप्त भएको खोपलाई तीव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका फोकलपर्सन कमल चन्दका अनुसार जिल्लाका सबै पालिकाका पशु चौपायामा लम्पी स्किनको महामारी बढ्दै गएकाले सबै पालिकामा भ्याक्सिन लगाउने कार्यलाई तीव्र पारिएको छ ।

उनले महामारी नियन्त्रण तथा बिरामी परेका पशु चौपायाको उपचारलाई प्राथमिकता दिएर गरिरहेको जनाउँदै हालसम्म जिल्लामा चार हजारभन्दा बढी पशु चौपायालाई भ्याक्सिन लगाइसकिएको बताए ।

फोकल पर्सन चन्दले भ्याक्सिन लगाउने कार्य तिव्र गतिमा चलिरहेकाले छिटोभन्दा छिटो सबै पशु चौपायालाई भ्याक्सिन लगाइने जानकारी दिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार खजुरा, जानकी, बैजनाथ र कोहलपुरमा सबैभन्दा बढी पशु चौपाया उक्त महामारीबाट प्रभावित भएका छन् ।

नरैनापुर, राप्तीसोनारी, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरमा पनि सो रोग फैलिने क्रम बढ्दै गएको पाइएको छ । जिल्लामा रहेका करिब एक लाख भैँसी र ६० हजारको हाराहारीमा रहेका गाईलाई सो महामारीबाट जोगाउन ठूलो चुनौती देखिएको छ ।

हालसम्म जिल्लामा ३७ हजारभन्दा बढी पशुचौपाया लम्पी स्किनको महामारीबाट बिरामी भएको र २०० भन्दा बढीको मृत्यु भइसकेको तथ्याङ्क सङ्कलन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । तथ्याङ्क सङ्कलन गर्ने कार्य अझै पनि जारी रहेकाले प्रभावित र मृत्युको सङ्ख्या बढ्ने जनाइएको छ ।

Nabintech