१ जेष्ठ २०८१, मंगलवार
कम उत्पादन र भारत निर्यातले नेपाली बजारमा गोलभेँडाको मूल्य उच्च

  • टाइम्स संवाददाता

  • २१ श्रावण २०८०, आईतवार १७:१५

काठमाडौं:उत्पादनको कमी र भारत निर्यात भएको कारण नेपाली बजारमा गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो। तर ठीक एक महिनापछि गोलभेँडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए।

उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेँडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए। व्यावसायीहरुले केही समय पहिला नेपालमा उत्पादन उच्च रहेको र भारतमा पनि नगएको तथा नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेँडा फालिएको बताए।

कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन्। उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन्।

पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेँडाको मूल्य उच्च रुपमा बढेको उनको भनाइ छ। उनले एक महिनाअघि नेपालमा उत्पादित गोलभेँडा फालाफाल हुँदा भारतमासमेत नगएको तर अहिले नेपालमा उत्पादित गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताइन्।

नेपाली बजारमा गोलभेँडाको कमी भएको अवस्थामा भारतमा गोलभेँडा निर्यात गर्दा मूल्य वृद्धि भएको उनको भनाइ छ। भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको उनी बताउँछिन्। अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेलभन्दा बाहिरको गोलभेँडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्री भइरहेको छ।

भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेँडा बिक्री भइरहेको छ। अहिले नेपाली बजारमा गोलभेँडा किलो १४० रुपैयाँ रहेको छ। गोलभेँडाको मूल्य एक महिनामा किलामै १० रुपैयाँ बढेको छ।
गोलभेँडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेँडा अत्यधिक महँगो भएको बताइन्। अहिले तरकारी बजारमा महँगो भनेको गोलभेँडा मात्रै रहेको उनी बताउँछिन्। उनले १० रुपैयाँ केजीसम्म झरेको गोलभेँडाको मूल्य किसानहरुले सडकमा फालेको बताइन्। गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा  फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको उनको भनाइ छ।

उनले गोलभेँडाबाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएका कारण मूल्य वृद्धि नभएको तर गोलभेँडाको उत्पादन कमीले मूल्य उच्च भएको बताइन्। बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकिदिए मात्रै उपभोक्ताले सधैं एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने उनको भनाइ छ।

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेँडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमै अहिले महँगो भएको बताए। उनले नेपालमा उत्पादित गोलभेँडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मूल्य  पुगेको बताए। कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको उनको भनाइ छ। कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको उनले बताए। कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेँडाको ठूलोको मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ।

Nabintech