२ जेष्ठ २०८१, बुधबार
आँखा पाक्ने रोगको प्रकोप बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालय बन्द

बुधवारदेखि सम्पूर्ण विद्यालय बन्द गर्न प्याब्सनले मंगलवार आधिकारिक सूचना निकाल्ने


  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार ०७:५७

नेपालगन्ज:आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको वेष्टजोन माध्यमिक विद्यालयका प्रिन्सिपल आरके गौतमले बताए ।

उनले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालकालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको बताए । ‘प्याब्सनसँग समन्वय गरेर विद्यालय बन्द गरिएको छ,’ उनले भने । प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले आँखा पाक्ने समस्या देखिएका विद्यालयलाई पठनपाठन बन्द गर्न सुझाव दिएको बताए ।

नेपालगन्जका विद्यालयमा अध्ययनरत २५–३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको उनको भनाई छ । ‘उपमहानगरसँग समन्वय र छलफल गरि धेरै समस्या देखिएका विद्यालयलाई मंगलवारदेखि बन्द गर्न भनेका छौँ । बुधवारदेखि सम्पूर्ण विद्यालय बन्द गर्न प्याब्सनले मंगलवार आधिकारिक सूचना निकाल्ने योजना छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले नगरका सम्पूर्ण विद्यालय बुधवारदेखि बन्द गर्ने तयारी भएको बताए । उनले विद्यालय बन्दका लागि प्याब्सन, एनप्याब्सन लगायतसँग छलफल भइरहेको बताए । एउटै विद्यालयमा सय–दुई सय विद्यार्थीको आँखा पाक्ने समस्या देखिएको बताउँदै उनले विद्यालय बन्दका लागि उपमहानगरले मंगलवार सूचना जारी गर्ने स्पष्ट पारे । ‘प्रकोप देखिएका विद्यालयलाई अवस्था हेरेर बन्द गर्न भनेका छौँ,’ उनले भने ।

खजुरा गाउँपालिकाका विद्यार्थीमा पनि आँखा पाक्ने रोगको प्रकोप देखिएको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । उनले विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएको खवर पाएको बताउँदै मंगलवार अनुगमन गरेर विद्यालय बन्द गर्ने–नगर्ने निर्णय गर्ने तयारी भएको बताए । ‘सोमवार विद्यालयको अनुगमन गर्ने र अवस्था हेरेर विद्यालय बन्द गर्ने योजना थियो । वर्षातका कारण अनुगमन हुन सकेन,’ उनले भने ।

Nabintech