६ जेष्ठ २०८१, आईतवार
दाङमा चालक निरोगिताको प्रमाणपत्र अब ३८ रुपैयाँमा

बिचौलिया अन्त्य गर्न साउन्ड सिस्टम राख्दै कार्यालय


  • टाइम्स संवाददाता

  • ७ भाद्र २०८०, बिहीबार १७:१३

तुलसीपुर : यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले बिहीबारदेखि चालक निरोगिताको प्रमाणपत्र कार्यालयबाट सर्वसुलभ मूल्यमा दिने व्यवस्था मिलाएको छ। यसअघि कार्यालय बाहिर रहेका ड्राइभिङ सेन्टरबाट सेवाग्राहीले ३ सय रुपैयाँमा लिने गरेकोमा अब कार्यालयबाट ३८ रुपैयाँमा निरोगिताको प्रमाणपत्र पाइने कार्यालयले जनाएको छ।

कार्यालयले सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा दिने व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश गौतमले बताए। उनका अनुसार कार्यालयको १३ नम्बर कोठाबाट ३८ रुपैयाँमै चालक निरोगिताको प्रमाणपत्र उपलब्ध हुनेछ। यसले गर्दा सेवाग्राहीलाई सेवा लिने सहज हुने समेत उनको विश्वास रहेको छ।

उनले भने, ‘म यस कार्यालयमा आएको भर्खरै हो। यो प्रमाणपत्र अरू ठाउँका कार्यालयले दिने गरेको अवस्थामा यहाँ बाहिरबाट ल्याउने गरेको रहेछ। मकहाँ पनि धेरै गुनासा आएका थिए। ३ सयभन्दा बढी रुपैयाँ लग्ने गरेको र डाक्टर नहुँदा पनि डाक्टरले साइन गरेको प्रमाणपत्र बेचिरहेको भन्ने कुरा आएपछि कार्यालयले यो कामको शुरु गरिएको हो।’

खुला रूपमा प्रतिस्पर्धा गराएर चालक निरोगिताको प्रमाणपत्र दिने व्यवस्था मिलाएको हुँदा पनि ३८ रुपैयाँमा पाइने उनको भनाइ छ। उनका अनुसार त्यसका लागि यहाँ धेरैले आह्वान गरेका थिए तर ३८ रुपैयाँमा सेवा दिने डाक्टरलाई उपयुक्त लागेर छनोट गरिएको हो।

यसैगरी उनले अहिले भएको कार्यालय भाडाको घरमा हुँदा सेवाग्राहीलाई सेवा दिन एकदमै समस्या हुने गरेको समेत बताए। यहाँबाट स्थानान्तरणका लागि प्रदेश सरकारसँग पहल भइरहेको पनि उनको भनाइ छ।

बिचौलिया अन्त्य गर्न साउन्ड सिस्टम राख्दै कार्यालय
कार्यालय प्रमुख गौतमले कार्यालयमा बिचौलियाहरूको बिगबिगी भएको हुँदा त्यसलाई अन्त्य गर्न आफू लागिरहेको बताए। उनले अब कार्यालय बाहिर साइरनको व्यवस्था गर्न लागेको र सेवा लिन आउने सेवाग्राहीलाई सेवाका लागि जानकारी दिने तयारी रहेको समेत बताए।

उनले भने, ‘अब कार्यालयमा आउने सेवाग्राही कुनै पनि बिचौलियासँग सेवाको लागि जानकारी लिनु नपर्ने गरी हामीले तयारी गरेका छौँ। सेवाका बारमा यहीँबाट जानकारी दिने र कुन सेवा कसरी लिने भन्ने बारेमा सेवाग्राहीले जानकारी पाऊन् भन्ने हाम्रो उद्देश्य हो।’

Nabintech