१७ बैशाख २०८१, सोमबार
सल्यानबाट ७० करोडको खसीबोका निकासी

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०८०, बुधबार ०९:२६

सल्यान : गत आर्थिक वर्षमा सल्यानबाट ७०  करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको छ आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७०  करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा  पशुसेवा कार्यालय सल्यानले जानकारी दिएको हो।

कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भए पनि दुई स्थानीय तहको तथ्यांक आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो। आर्थिक वर्ष  २०७८/०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएकोमा यस वर्ष करिब १७ करोड रुपैयाँ बढी निकासी भएको  पशु अस्पताल तथा  पशुसेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए।

सल्यान बाख्रापालनका लागि उपयुक्त ठाउँ मानिन्छ। यहाँका किसानको घर–घरमा बाख्रा पालन गर्ने गरेका छन्। जिल्लामा चार लाख भन्दा बढी संख्यामा बाख्रापालन हुँदै आइरहेको उनले बताए। बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले ‘एक पालिका एक पशु बस्तु’ कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको महतले जानकारी दिए। जिल्लामा व्यावसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढेको छ। प्रत्येक घरले ३ देखि ५ वटासम्म बाख्रापालन गर्दै आइरहेको प्रमुख महतले बताए।

व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आर्कषित गर्न गतवर्षसम्म पशु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। बाख्रापालन प्रवर्धनका लागि बाख्र्रा वितरण, उन्नत जातका बोका खरिद खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा  पशुसेवा कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिए।

उनका अनुसार साना किसान र व्यवसायिक किसानलाई वर्गीकृत गरी खोर सुधार अनुदान, बजारीकरणका लागि संकलन सहजीकरण, संक्रामक रोगविरुद्ध निशुल्क खोप सेवा लगाएत  प्राविधिक सहयोग गर्ने गरेकोे बताउनु भयो  । जिल्लालाई बाख्रापालनमा उदाहरणीय बनाउन प्रदेश र स्थानिय तहको समन्वयमा पशु सेवा कार्यलयले विभिन्न कार्यक्रम सञ्चालन हुदै आइरहेको बताए।

सल्यानको खखीबोका काठमाडौं, पोखरा, धनगढी लगायतका प्रमुख शहरमा बढी माग हुन्छ। सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीले बढी मूल्य तिर्ने गरेको पाइएको छ। जंगलमा घाँससँग सँगै जडिबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसीबोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका छन्। जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सूचना अधिकारी केसीले बताए।

Nabintech