२२ बैशाख २०८१, शनिबार
भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली क्रिकेट टोली

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०८०, बिहीबार १४:४३

काठमाडौं : एसिया कपमा भारतसँग खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ। एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली केहीबेर अघि श्रीलंका पुगेको हो। नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ गते खेल्नेछ।

भारत र पाकिस्तानबीच आन्तरिक द्वन्द्वका कारण आईसीसीले पाकिस्तान र श्रीलंकामा एसिया कपको आयोजना गरेको हो। भारत एसिया कप खेल्न पाकिस्तान नआउने भएपछि आईसीसीले श्रीलंकामा भारत र नेपालबीचको खेल राखेको हो। भारत र पाकिस्तानले पनि श्रीलंकामै खेल्नेछन्।

एसिया कपको उद्घाटन खेलमा नेपाल, आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भएको थियो।

एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीका लागि एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप आयोजना गर्दै आएको छ। सन् १९८४ बाट सुरु भएको एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पाँच पूर्ण सदस्य र छनोटबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्।

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छ। सुपर चारबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। एसिया कपको सर्वाधिक सफल टोली भारत हो। १६ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ। यस्तै श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक एसिया कपको उपाधि चुमेको छ।

गत मेमा घरेलु भूमिमा भएको एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपको टिकट काटेको हो।

नेपालले २१ वर्षपछि एसिया कप खेल्न लागेको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपमा छनोट भएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला एसीसी ट्रफीको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुन्थे। उक्त फाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।

नेपालले एसिया कपमा स्थान बनाए पनि प्रतियोगिता नभएपछि खेल्न पाएन। भारत र पाकिस्तानबीचको आन्तरिक विवादका कारण सन् २००२ को एसिया कप नै रद्द भएको थियो। जसका कारण नेपाल र यूएईले निरास हुनुपरेको थियो। त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन।

 

Nabintech