१६ बैशाख २०८१, आईतवार
भेरीमा एक महिनादेखि रेबिजविरुद्धको खोप अभाव

‘बाहिर किन्न जाँदा एउटा भ्याक्सिनको ६ सय ३० रुपैयाँ पर्ने


  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८०, सोमबार १२:३९

नेपालगन्ज: भेरी अस्पतालमा रेविज विरुद्धको खोपको अभाव भएको छ । एक महिनादेखि खोपको अभाव भएपनि समस्या सल्टिन सकेको छैन । अस्पताल प्रशासनले भने हप्ता दिन देखि मात्र खोप अभाव भएको दावी गरेको छ । खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुग्नुभयो। जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उहाँले छेउकै मेडिकलबाट ६ सय ३० रुपैयाँमा एक डोज खोप किन्नुभयो। थप १० रुपैयाँमा एउटा सुई र सिरिन्ज पनि किने । ‘सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भन्छ । तर, अस्पतालको फार्मेसीमा पाइएन, मैले त एक डोजको ६ सय ३० तिरेँ,’ उहाँले भन्नुभयो ।

सरकारले सन् २०३० भित्र कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सोहीअनुसार रेबिजविरुद्धको खोप निःशुल्क घोषणा गरिए पनि सरकारी अस्पतालमा जहिल्यै अभाव हुन्छ । बजारमा महँगोमा खोप पाइने भएकाले विपन्न तथा असहाय बिरामी खोप नलगाएर फर्किने गरेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–१४ का सरोज यादव पनि एक हुनुहुन्छ। उहाँलाई १० भदौमा कुकुरले टोकेपछि भेरी अस्पताल पुग्नुभयो। अस्पतालले बाहिरबाट खोप किनेर ल्याउन भनेपछि उहाँ त्यत्तिकै घर फर्किनुभयो ।

‘बाहिर किन्न जाँदा एउटा भ्याक्सिनको ६ सय ३० रुपैयाँ पर्ने रहेछ, किन्न सकिएन । पैसा तिरेर किन्न नसकिने भएपछि त्यसै फर्किएँ,’ उहाँले भन्नुभयो । रेबिजविरुद्धको खोप तीनपटक लगाउनुपर्छ । बाहिरको मेडिकलबाट खरिद गर्दा एकजनाको कुल खर्च एक हजार नौ सय २० रुपैयाँ हुन आउँछ । तर, एक भाइल भ्याक्सिनबाट दुईजनाले लगाउन मिल्छ । दुईजनालाई लगाउन कुकुरले टोकेको अर्को व्यक्ति सम्पर्कमा आउनुपर्ने हुन्छ । ‘मैले अर्को व्यक्तिलाई पर्खिरहेको थिएँ, तर कोही आएनन् । एक डोज अस्पतालको १८ नम्बर कोठामा छोडेर आएँ,’ अख्तरले भन्नुभयो ।

भेरीमा एक महिनादेखि रेबिजविरुद्धको खोप अभाव छ । तर, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले खोप सकिएको एक हप्ता मात्र भएको बताउनुभयो । उहाँले पहिलेदेखि लगाउँदै आएकालाई भ्याक्सिन दिँदै आएको बताउँदै एक हप्तायता अस्पतालमा भ्याक्सिन नभएको बताउनुभयो । स्वास्थ्य सेवा विभागसँग माग गरे पनि नपाएको बताउँदै उहाँले ५०–६० भाइल माग्दासमेत नपाएको जिकिर गर्नुभयो। स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको उहाँले स्पष्ट पार्नुभयो।

‘खरिद भएपछि मात्र पठाउन सकिने जवाफ स्वास्थ्य विभागले दिएको छ । आउने–नआउने अझै निश्चित छैन,’ डा.रायमाझीले भन्नुभयो । बिरामीले बाहिरबाट खरिद गरेको गुनासो गरे पनि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रायमाझीले अति गरिबलाई सामाजिक सेवा एकाइमार्फत भ्याक्सिनमा सहयोग गरिरहेको दाबी गर्नुभयो । बाहिरको मेडिकलबाट किन्न नसक्ने गरिब तथा असहायलाई खरिद गर्न सहयोग गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

Nabintech