३ जेष्ठ २०८१, बिहीबार
मलेरियाको उच्च जोखिममा नरैनापुर

औलोका कारण कसैको मृत्यु नभएको


  • टाइम्स संवाददाता

  • २१ भाद्र २०८०, बिहीबार १६:३५

नरैनापुर,बाँके : भारतमा आउजाउ धेरै हुने भएकोले औलो (मलेरिया)को उच्च जोखिममा नरैनापुर पर्दछ । भारतमा मलेरिया लागेका ब्यक्ति सिधै पुग्ने भएकोले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई मानिएको हो ।

गत आर्थिक वर्षमा त्यहाँ एक सय दुई जनामा मलेरिया पुष्टि भएको थियो । चार हजार तीन सय ८४ जनाको मलेरिया जाँच गर्दा एक सय दुई जनामा मलेरिया पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।

मलेरिया पुष्टि भएका सवै निको भएर घर फर्किएको उनले बताए । ‘समयमा जाँच पड्ताल र उपचार गरौँ । फलस्वरुप सवैलाई निको बनाउन सफल भयौँ,’ उनले भने ।

अघिल्लो आव ०७८/०७९ मा दुई हजार ६ सय ७५ जनाको औलो जाँच गर्दा ८९ र आव ०७७/०७८ मा एक हजार पाँच सय ५८ जनामा जाँच गर्दा ३५ जनामा औलो पुष्टि भएको थियो । औलोका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

क्षयरोग (टीवी) लागेका नरैनापुरका ५८ जना निको भएका छन् । गत आव ०७९/०८० मा ६१ जना क्षयरोगका विरामी फेला परेकोमा ५९ जना निको भएका हुन् । एक जना विरामी निको भएर पनि उपचारका लागि नआएको र एक जनाले विचमै औषधि सेवन गर्न छाडेको साहले जानकारी दिए ।

उनले गत आवमा १५८ दशमलव ५ प्रतिशत केस पत्ता लागेको बताउँदै निकोे हुने दर ९० दशमलव ६ प्रतिशत रहेको बताए । उक्त आवमा चार जना क्षयरोगीको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा १३० दशमलव २ प्रतिशत केस फेला पर्दा र आव ०७८/०७९ मा १४६ प्रतिशत क्षयरोगका विरामी फेला परेका थिए । भने, आव ०७७/०७८ मा ९३ दशमवल १ र आव ०७८/०७९ मा निको हुने दर ८९ दशमलव ५ रहेको साहले जानकारी दिए ।

क्षयरोगका विरामी सवैभन्दा धेरै गंगापुर स्वास्थ्य चौकीले लगाएको तथ्यांक छ । उक्त स्वास्थ्य चौकीले २४७ दशमलव २ प्रतिशत केस पत्ता लगाएको र पत्ता लागेका केस मध्ये ९४ दशमलव ४ प्रतिशत विरामी निको भएको उनले बताए ।

स्वास्थ्य शाखाका अनुसार नरैनापुरका १२४ दशमलव ५ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान पाएका छन् । गाउँपालिकाका ६ वडा मध्ये सवैभन्दा धेरै मटेहिया स्वास्थ्य चौकीले समेट्ने गाउँका महिलाले आफ्ना बालबच्चालाई पूर्ण स्तनपान गराएको तथ्यांक छ ।

तथ्यांक अनुसार, त्यहाँका ३९१ दशमलव ९ प्रतिशत बालबालिकाले आमाको पूर्ण स्तनपान पाएका छन् । सवैभन्दा कम पूर्ण स्तनपान पाउनेमा कटकुइँया स्वास्थ्य चौकी अन्तरगतका बालबालिका रहेका छन् । त्यहाँका ५ प्रतिशत बालबालिकाले मात्र पूर्ण स्तनपान पाएका छन् ।

त्यसैगरी, नरैनापुर स्वास्थ्य चौकी अन्तरगतका ११२ दशमलव २ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान पाउँदा लक्षमणपुरका ५९ दशमलव ९, गंगापुरका ५३ दशमलव ७ र कालाफाँटा स्वास्थ्य चौकी अन्तर्गतका २८ दशमलव ९ प्रतिशत बालकालिकाले पूर्ण स्तनपान पाएको साहले जानकारी दिए ।

Nabintech