१८ बैशाख २०८१, मंगलवार
अझै दुई दिन मौसम बदली रहने

कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा


  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार ०८:११

काठमाण्डाै: अहिले कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । साथै नेपालमा अहिले भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

नेपालमा मनसुन सामान्यतया अक्टोबर २ तारिख अर्थात् असोज १५ सम्म रहने गर्छ । यसवर्ष गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा औसत जुन १३ तारिखदेखि मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।

Nabintech