८ जेष्ठ २०८१, मंगलवार
विश्व आत्महत्या रोकथाम दिवस, कोहलपुरमा गरियो अन्तरक्रिया

आत्महत्या जस्तो संवेदनशिल विषयमा सबै सचेत हुनुपर्ने


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०८०, आईतवार १८:२०

कोहलपुर,बाँके:विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कोहलपुरमा स्वस्थ्यकर्मि, सुरक्षाकर्मि, सञ्चारकर्मि तथा स्थानिय सरकारबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ”आत्महत्या रोकथामका लागि काम गरौ आशाको सिर्जना गरौ” भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, ईलाका प्रहरी कार्यालय कोहलपुर र टिपिओ नेपालको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्र सम्पन्न गरिएको हो ।

आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धि  उक्त कार्यक्रममा आत्महत्या जस्तो संवेदनशिल विषयमा सबै सचेत हुनुपर्ने बक्ताहरुले सुझाव दिएका छन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षण अस्पताल मानसिक रोग बिभागिय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी प्रोफेसर डा. मोहन वेल्वासेले आत्महत्या आफैमा जटिल विषय भएकाले यसको रोकथामकालागी समाजका सबै पक्षहरु सचेत हुनुपर्ने बताएका छन ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ मानसिक रोग विशेषज्ञ समेत रहेका डा. वेल्वासेले पछिल्लो समय विश्वभर आत्महत्या गर्ने क्रम बढ्दै गएको बताए । पछिल्लो समय सामाजिक तथा पारिवारीक कारणले गर्दा समेत यस्ता घटनाहरु बढ्दै गएको तर्फ ईगिंत गर्दै डा. वेल्वासेले समयमै समस्याको पहिचान भए आत्महत्याको दर रोक्न सकिने बताए ।

नेपालमा हरेक १ लाखमध्ये २० जनाले आत्महत्या गर्ने तत्थ्याङ्क सार्वजनिक गर्दै डा. वेल्वासेले मनोपरामर्श मार्फत ब्यक्तिको समस्या पहिचान गरी उसलाई नयाँ जिवन दिन सकिने बताए । राज्यले आत्महत्या रोकथामकालागि गर्नुपर्ने पहल प्रयाप्त नभएको जिकिर गर्दै डा. वेल्वासेले आत्महत्या जस्तो संवेदनशिल विषयमा स्वयं परिवार र समाज थप जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । मानिसले आत्महत्या गर्न सक्ने संभावना र रोकथामका वारेमा परिचर्चा गरेका वेल्वासेले मानसिक उपचारका बिधिहरुबाट पनि आत्महत्या न्युनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक  सुन्दर तिवारीले नेपालमा आत्महत्याका घटना बढ्दै गएको बताए । उनले संचार क्षेत्रले आत्महत्या जस्तो संवेदनशिल विषयलाई उठान गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँदै हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिलाई शुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने बताए ।

पारीवारीक समस्या , आर्थिक अभाव, पे्रममा असफलता जस्ता कारणले मान्छेहरुले आत्म हत्या गर्ने गरेको पाईएको भन्दै प्रहरी नायव उपरिक्ष् ाक तिवारीले आत्म हत्यापुर्व ब्यक्तिले आफु यो संसारमा नरहने जस्ता अभिब्यक्ति दिए उस्ले आत्म हत्या गर्न सक्ने भन्दै त्यस्ता ब्यक्तिहरुलाई मनोसामाजिक विर्मशकर्ता सम्म लैजान सके निजको जिवन बच्ने धारणा राखे ।

पछिल्लो तथ्याङ्क अनुसार बाँकेमा २९ जनाले आत्महत्या गरेको तिवारीले बताए । तिवारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभरबाट छ हजार ९९३ जनाले आत्महत्या गरेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष भन्दा २.३९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जनाले आत्महत्या गरेका थिए।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको सभापत्त्विमा संचालन गरीएको कार्यक्रममा स्वास्थ्यकर्मी, बिभिन्न क्षेत्रका अगुवा, प्रहरी तथा संचारकर्मीको उपस्थिती रहेको थियो । सञ्चारकर्मि प्रिया स्मृती ढकालले सञ्चालन गरेको कार्यक्रममा  सहभागिहरुले आत्म हत्याका बिषयमा बिभिन्न जिज्ञाशा समेत राखेका थिए । आइतबार देशभर विभिन्न कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।

Nabintech