१ जेष्ठ २०८१, मंगलवार
रुकुम जादै गरेको गाडिको ठक्करबाट एकको मृत्यु

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८०, आईतवार १४:५९

नेपालगञ्ज : तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतवार बिहान सवा ९ बजे नेपालगञ्जबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन् ।

अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ । उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए ।

अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् । अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ । ठक्कर दिएर गाडीका चालक फरार भएका थिए । अहिले उनलाई नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिए ।

Nabintech