१ जेष्ठ २०८१, मंगलवार
लुटपाट मच्चाएको आरोपमा राप्तिसोनारिबाट३ शंकास्पद ब्यक्ति पक्राउ

गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीद्वारा सुरक्षाको माग


  • टाइम्स संवाददाता

  • २ आश्विन २०८०, मंगलवार १३:५८

नेपालगन्ज: बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

“आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको आशङ्कामा तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेका छौँ, उनीहरूबाट लुटिएको सामान फेला परेको छैन, सोधपुछ र अनुसन्धान गर्दैछौं ।” प्रहरी प्रवक्ता डाँगीले भने ।

राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा गत आइतबार राति हतियारसहित आएको १०-१२ जनाको समूहले स्थानीय धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद,दुई वटा खसी र एउटा बोका लुटेर लगेका थिए ।

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुर लामिछाने मगरले बताए ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका-७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित बेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारुले जानकारी दिए ।

२०-३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए । गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।

Nabintech