८ जेष्ठ २०८१, मंगलवार
बाल सुधार गृहमा झडप: ४ जना अझै सम्पर्क विहिन

किन भयो दुई पक्ष वीच झडप ?


  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८०, शनिबार १५:०५

बाँके: डुडुवा गाउँपालिका ६ स्थित जयन्दु बालसुधार गृहमा झडपका क्रममा भागेका चार जना अझैँ सम्पर्कविहिन छन् । बालसुधार गृहबाट भागेका अन्यलाई नियन्त्रणमा लिए पनि चार जना अझैँ फेला नपरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले कोहलपुर टाईम्सलाई जानकारी दिए । बालगृह तोड्फोड गरि भागेका अन्यलाई नेपालगन्ज र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए । ‘अधिकांशलाई नियन्त्रणमा लिइएको छ । चार जनाको खोजी भइरहेको छ,’ उनले भने ।

बाल सुधार गृहमा दुई सय ५४ जना थिए । लागुऔषध सेवन गर्ने र नगर्ने समुह वीच विवाद हुँदा दुई पक्ष वीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका ४, रुद्रपुर रुपन्देहीका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरिर बन्धक र जवरजस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राती करिव साढे १० वजेबाट भएको झडप विहान दुई वजेसम्म भएको थियो । झडपमा परि १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालबन्दीले प्रहरीको पेस्तोल नै कब्जामा लिएको बताइए पनि डिएसपी डाँगीले यस विषयमा आफूलाई जानकारी नभएको जिकिर गरे । उनले भने, ‘असईले बोक्ने पेस्तोल बालवन्दीले खोसेर लगेको भन्ने छ, तर मेरो स्टेटमेन्टमा त्यो छैन । पेस्तोल हराएको कुरा मैले कतै पनि भनेको पनि छैन । मलाई जानकारी नभएको कुरा मैले कसरी भनुँ ।’

प्रहरीका अनुसार तोड्फोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जला पनि जलाएका छन् । तोड्फोडबाट सुधार गृह र कार्यालय भवनको झ्यालका सिसा, कम्प्यूटर, भिडियो कल गर्ने उपकरणमा क्षति पुगेको छ । बालबन्दीले सुधार गृहमा रहेको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बालसुधार गृहमा रहेका यूवाको समुहले आफूले खाने थाल, कटौरा, गिलास समेत बाहिर फालेर प्रदर्शन गरेका थिए । वार्ताका लागि दिनभर प्रयास भए पनि सफल नभएको बाँके प्रहरीले जनाएको छ ।

विहीवार रातिदेखि शुक्रवार दिउँसोको तनावको अवस्था बुझ्न लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी उमेशराज जोशी र लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी कृष्णप्रसाद प्रसाई नेपालगन्ज आएका छन् । उनीहरुले बालसुधार गृहमा भएको कारण र हालको अवसथा बुझेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । उनले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु घटनास्थल पुगेर बस्तुस्थितिको बारेमा जानकारी लिएका बताए ।

यसअघि भक्तपुर स्थित बालसुधार गृहमा यहि सुधार गृहबाट गएका बालवन्दीको नेतृत्वमा आन्दोलन भएको थियो । उक्त बाल गृहको गेट तोड्फोड गरि बालवन्दीहरु सडकमा निस्केका थिए भने भक्तपुरबाट वीरगन्ज सरुवा भएका बालवन्दीले त्यहाँ पनि झडपमा उत्रिएका थिए ।

किन भयो दुई पक्ष वीच झडप ?
बाल सुधार गृहमा लागुऔषध, जवरजस्ती करणी र कर्तब्य ज्यान सम्बन्धि मुद्धामा सजाय पाएका बालबन्दीहरु रहेको काउन्सिलर विमला काउचामगरले  कोहलपुर टाईम्सलाई  बताइन् । सुधार गृहमा रहेका ६ जना बालवन्दीले आफूसँगै सुधार गृहमा रहेका कक्षा ५–१० सम्मका विद्यार्थी पढाउने गरेको उनले बताइन् । ‘त्यहाँ लागुऔषध प्रयोगकर्ताको समुह पनि छ । त्यो समुहले लागुऔषध सेवन नगर्ने र शिक्षकलाई हेप्ने, होच्याउने गर्दथे,’ उनले भनिन्, ‘शिक्षकहरु काउन्सिलरसँग जान्छन् । नजिक छन् । हाम्रो कुरा लगाउँछन् भन्ने रिस लागुऔषध सेवन गर्नेहरुलाई थियो । विहीवार रातीको झडप लागुऔषध सेवन गर्ने र नगर्ने समुह वीच भएको हो । हेपाई सहन नसकेर प्रतिवाद गर्दा झडपको स्थिति सिर्जना भएको हो । ’

उनले सुधारगृहमा १५–२७ वर्ष उमेरका बालवन्दी रहेको बताइन् । लागुऔषध सेवन गर्नेहरुले आफूभन्दा सानो उमेरकालाई हेप्ने, कुट्ने, पिट्ने गरेको आफूले देखेको बताइन् । ‘यसको रिपोर्टिङ हामीलाई पहिलेदेखि नै थियो । हामीले उछृङ्खल ब्यक्तिको पहिचान गरि अन्यत्र पठाउने योजना बनाएका थियौँ, तर पठाउन नपाउँदै झडपको स्थिति सिर्जना भयो,’ उनले भनिन्, ‘पहिले नै अन्यत्र सरुवा गर्न सकेको भए यो अवस्था आउने थिएन ।’

Nabintech