२१ बैशाख २०८१, शुक्रबार
निष्ठुरीका नाममा !

  • प्रेम शर्मा

  • ८ आश्विन २०८०, सोमबार १७:०५

 माफियाको  ब्रम्हलुट जस्तै
मुटुका प्रत्येक  कोठा,  चोटाहरुमा
रक्तकण र हृदयका स्पन्दनहरुमा
दिल, दिमाग र अनुभुति
सर्बस्सोमा कब्जा जमाउदै
लाशलाई  उपियाले छोडे जस्तै
किन बाटो मोडेउ निष्ठुरी ?
कोमल हृदयमा डढेलो सल्काउदै
मायाको महासागरमा सुनामी उछाल्दै
वैरी बनेर आज
खुशीको संसार उजाड बनाउदै
छुट्टै संसार, छुट्टै परिवेश
हजारौं कोश टाढा कतै
किन बसाइँ सरेउ निष्ठुरी ?
भुकम्पले चर्किएका भित्ता जस्तै
चर्किएको हृदय सुम्सुम्याउदै
भताभुङ्ग जिन्दगीका खण्डहर सम्हाल्दै
आशातित अँखाहरु
प्रतिक्षित मनहरु
उद्देलित र अशान्त छ्न
किन उडान भरेउ निष्ठुरी ?
ॠतु बद्लिन्छ,
ॠतु सङ्गै प्रकृतिको रुप बद्लिन्छ
बक्र रेखामा चल्ने जिन्दगी
सोच बद्लिन्छ
परिस्थिति  बद्लिन्छ
आउ हराभरा पारौं जिन्दगी
किन टाढा हुन्छेउ निष्ठुरी ?
Nabintech