२ जेष्ठ २०८१, बुधबार
राप्ती सोनारीमा वडैपिच्छे बर्थिङ सेन्टर

प्रसूति गृह सञ्चालनपछि जनशक्ति अभाव


  • रासस

  • ९ आश्विन २०८०, मंगलवार १०:४२

बाँके : राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।  सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूती गृह सञ्चालनको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए। ‘गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ।’

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। गाउँपालिकाले वडा नं.६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूति गृह भवनको उद्घाटन गरी प्रसूति सेवा सञ्चालनको तयारी गरेको छ । यो सँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसूति गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसूति गृह सञ्चालनमा आइसकेका छन्। अब यो आर्थिक वर्षमै वडा नंं‍. ८ शम्शेरगञ्जमा पनि प्रसूति गृह सञ्चालनमा ल्याइने  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए।

वडा नं.६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उहाँले विश्वास व्यक्त गरे।कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन्। प्रसूति गृह सञ्चालनपछि भने जनशक्ति अभाव हुने अनमि तिलसरी घर्तीले बताए।

२६ लाख २४ हजार ९५८ मा प्रसूति गृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका ६ का अध्यक्ष लवराज खरेलले जानकारी दिए। वडा नं. ६ मा गर्भवती तथा सबैखाले बिरामीको सहजताका लागि एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीको २४ लाख रुपैयाँ र गाउँपालिका र वडा कार्यालयको करिब एक लाखको सहयोगमा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले जानकारी दिए।

Nabintech