६ जेष्ठ २०८१, आईतवार
सल्यानका स्थानीय तहका कर्मचारीद्वारा कालोपट्टी बाँधेर धर्ना

सबै नेपाल सरकारका कर्मचारी भए पनि संघीय निजामती ऐनले विभेद छुट्याउने प्रयास गरेकाले मान्य नहुने


  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार २०:४३

सल्यान : सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाधेर कार्यालयमा धर्ना दिएका छन्। आफ्नो माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (मंगलबार) जिल्लाका दशवटै स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर २ घण्टा धर्ना दिएका हुन्। आन्दोलनरत कर्मचारीले मंगलबार १० देखि १२ बजेसम्म दुई घण्टा हातमा कालोपट्टी बाँधेर पालिकाको कार्यालयमा धर्ना दिएका छन्।

संघ, प्रदेश तथा स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई समावेश गरिनुपर्ने, सेवा सुविधा समान गर्ने, सबै तहमा सरुवा हुनुपर्ने, प्रदेशबाट संघमा जान नपाउने प्रावधान खारेज गर्नुपर्ने, स्वास्थ्य सेवा समान हुनुपर्ने, बढुवा समान, अन्तरप्रदेश सरुवा, स्थानीय तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने, तालिममा विभेद गर्न नपाउने लगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आफ्ना मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक हरिभक्त भण्डारीले बताए। उनका अनुसार दुई घण्टा धर्ना दिएका कर्मचारी अहिले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाजमा फर्किए पनि आन्दोलन जारी रहेको भण्डारीले बताए।

केही दिनसम्म लगातार हातमा कालोपट्टी बाँधेर काम गर्ने र ‘सरकारले माग सम्बोधन नगरे पेन डाउन गरी कार्यालयको कामकाज ठप्प पर्ने चेतावनी दिए। जिल्लामा गरेको आन्दोलन तथा धर्नालाई सम्बन्धित निकायले बेवास्ता गरे सबै स्थानीय तहका कर्मचारी काठमाडौंमा सञ्चालन हुन थालेको आन्दोलनमा सहभागी हुने बताए।

सबै नेपाल सरकारका कर्मचारी भए पनि संघीय निजामती ऐनले विभेद छुट्याउने प्रयास गरेकाले मान्य नहुने कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार आचार्यले बताए। संघीय निजामती ऐनले आफूहरूलाई छुट्याएकै कारण आन्दोलन तथा धर्ना गर्नुपरेको बताए।

Nabintech