६ जेष्ठ २०८१, आईतवार
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

आधिकारिक सूचना मात्र सम्प्रेषण गरौंं, पत्रकार महासंंघ बाँके


  • टाइम्स संवाददाता

  • १७ आश्विन २०८०, बुधबार १५:०१

नेपालगञ्ज:बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।  जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ।

स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए। उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए।

आधिकारिक सूचना मात्र सम्प्रेषण गरौंं’ : पत्रकार महासंंघ बाँके

नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पत्रकारलाई नेपालगन्जमा उत्पन्न संवेदनशील परिस्थितिमा आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ ।

महासंघ बाँकेका सचिव कमल डाँगीले बुधबार अपिल प्रकाशित गरी संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हतारो नगरी आधिकारिक निकायबाट अधिकारिक व्यक्तिले दिएको सूचनालाई मात्र प्राथामिकता दिइ समाचार सम्प्रेषण गरौं ।’ महासंघले पत्रकार आचारसंहितामा उल्लेख भएको,–‘विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन’ भन्ने बिषयलाई ध्यान दिन पनि पत्रकारहरुसँग अनुरोध गरेको छ ।

स्थलगत रुपमा समाचार संकलन गर्न जाँदा आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारी साधनमा अस्थायी रूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँस्न र देखिने गरी आफ्नो परिचयपत्र लगाउन, यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन पनि महासंघले पत्रकारलाई ध्यानाकर्षण गरेको छ । नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताका साथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैसँग पनि महासंघले आग्रह गरेको छ ।

Nabintech