२५ बैशाख २०८१, मंगलवार
रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ, भारती पुन: अनसनमा

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए


  • टाइम्स संवाददाता

  • १८ आश्विन २०८०, बिहीबार ०९:३७

नेपालगञ्ज:नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ ।

हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्दालाई बिहीबारका लागि पेशीमा चढाइएको छ । माफीविरुद्ध रीट हालेकी भारती भने बुधबार सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन । तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै उनी ढलेकी हुन् ।

भारतीलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी हुन् ।

रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् ।

   भारती पुन अनसनमा

राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् । श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन । बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।

Nabintech