६ जेष्ठ २०८१, आईतवार
एमालेमा एक लाख ६१ हजार नयाँ सदस्यहरु थपिए

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८०, बिहीबार ०८:१२

काठमाडौं: नेकपा (एमाले)मा दशौँ राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ संगठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा संगठित सदस्य पाँच लाख ५० हजार पुगेका छन् ।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका संगठित सदस्य रहेको केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए । उनका अनुसार अब प्रवास कमिटीमा रहेका संगठित सदस्यको संख्या विवरण आउन बाँकी छ ।

“हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ”, उनले भने, “प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ । त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ ।”

एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए ।

सचिव ढुंगेलले दशौँ महाधिवेशनका समयमा पार्टी संक्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता) मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको संख्या बढी भएको बताए । एमालेको दशौँ महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनको सौराहा भएको थियो ।

Nabintech