१५ बैशाख २०८१, शनिबार
शुद्धीकरणको निर्णय सच्याउन माग गर्दै प्रेस चौतारी बाँके आन्दोलनमा

पत्रकार महासंघ बाँकेमा चौतारीको ताला


  • टाइम्स संवाददाता

  • २७ आश्विन २०८०, शनिबार १७:३१

नेपालगञ्ज, बाँके:  प्रेस चौतारी बाँकेले नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश समितिको सिफारिस गरेको शुद्धीकरण एवं नयाँ सदस्यताको नामावली’ प्रति आपत्ती जनाउँदै आन्दोलनमा उत्रिएको छ । निर्णय सच्याउन माग गर्दै चौतारीले महासंघ बाँके शाखा मार्फत केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै समस्या समाधान नहुँदासम्म शनिवारदेखि बाँके शाखामा तालाबन्दी समेत गरिएको अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।

महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा बाँकेमा नयाँ सदस्यता र शुद्धिकरण अभियान सम्बन्धि निर्णयबाट अन्याय महसुस गरी आन्दोलन र तालाबन्दी गरेको लामो समय बित्दा समेत समस्या समाधानका लागि कुनै पनि पहल नगरी महासंघ लुम्बिनी प्रदेश समितिले सदस्यता शुद्धीकरण मापदण्डको धज्जी उडाउँदै अत्यन्त पूर्वाग्रही र मनोमानी तरिकाले नामावली सिफारिस गरेको चौतारीले ठहर गरेको छ ।

प्रदेश समितिले जिल्लाबाट सिफारिस गरेकोे नामावलीका सम्बन्धमा छानविन गर्नुपर्नेमा उल्टो जिल्लाले सिफारिस गरेको नामावली थप गिजोल्दै बिवादित बनाएको उल्लेख गर्दै प्रेस चौतारी बाँकेले प्रदेशमा परेको उजुरी उपरसमेत वास्तविकता पहिचान नगरी गरिएको सिफारिस सच्चाउन महासंघलाई आग्रह गरेको छ । शक्तिको आडमा हरप्रयासले प्रेस चौतारी निकटका पत्रकारलाई पाखा लगाउने दुस्प्रयासको कडा प्रतिवाद गर्दै महासंघको केन्द्रीय शुद्धीकरण समितिबाटै बाँकेमा उत्पन्न समस्या समाधान नहुँदासम्म नेपाल पत्रकार महासंघ बाँके शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।

प्रेस चौतारी नेपाल नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण हुनुपर्ने आवाज सशक्तरुपमा उठाउँदै आएको संगठन भएको उल्लेख गर्दै ज्ञापनपत्रमा सदस्य शुद्धिकरण र नयाँ सदस्यता वितरण प्रक्रिया बिधिसम्मत ढंगबाट हुनुपर्नेमा प्रष्ट रहेको जनाएको छ । तर यी निर्णय गर्दा प्रेस चौतारी निकट क्रियाशील पत्रकारलाई शुद्धिकरणका नाममा हटाउने र सदस्यता नदिने कार्य भइरहेकोले त्यस्ता गतिबिधि सच्याउन जोडदार माग गर्दै आगामी दिनमा तालाबन्दी बाहेक थप आन्दोलन चर्काउने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै महासंघ बाँकेका अध्यक्ष भण्डारीले जिल्लाबाट सिफारिस नाम प्रदेश समितिले थप बिवादित बनाउने कार्य गरेको भन्दै उत्पन्न समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

Nabintech