१९ बैशाख २०८१, बुधबार
नेपालगञ्जमा ऐतिहासिक रामलीला मञ्चन

नेपालगञ्जमा रामलीला महोत्सवको रौनकता


  • रासस

  • २९ आश्विन २०८०, सोमबार ०६:५६

राँझा: ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ ।  भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन  गर्न थालेका हुन्  ।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका जानकारी दिए ।
उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको नेपालगञ्जका अगुवा नन्दलाल वैश्यले बताए । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए ।  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे ।

Nabintech