१९ बैशाख २०८१, बुधबार
सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारणको पुग्दैन जहाज चढने पहुच

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०८०, सोमबार १३:३४

नेपालगञ्ज: सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ। मौसमको प्रतिकूलता र एयरलाईन्सहरूको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ। नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्त न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो।

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ। सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुम की टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छिन्। नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन। रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आएकी थिइन्। १८ दिनकी सुत्केरी टीकासँग जहाजको टिकट छैन। पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेकी छिन्।

उनी भन्छिन्, ‘फ्लाइट पनि गारो छ। पाइँदैन। उतै अप्रेशन भएपनि ब्लड पाइँदैन। आईसियु छैन। सेवा सुविधा केही पनि छैन। सके पनि नसके पनि यही९नेपालगञ्ज० आउनैपर्ने बाध्यता छ। अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन।’पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आइन्। जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन। एक महिना भइसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ।

निशाले भनिन्, ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो। पुर्वी रुकुम देखि पश्चिम पठाइदियो। दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँ सम्म आएको। यहाँ आएपछि। अप्रेशन भयो। ४ दिन हस्पिटल बसेको हो। अनि होटलमा एक महिना बस्यौ। अब घर जान लागेको। जहाजको टिकट मिल्दैन भन्नुभएको छ।’ कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन्। कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ।

शाही भन्छन्, ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन। नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ। मुख्य समस्या यही हो। प्राईभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन्। मुख्य कुरा टिकट नै पाइदैँन। सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन। च्यानलमा जानुपर्छ। नेताको ज्याक लिएर जानुपर्छ। टिकट पाउन बहुत गारो छ। विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला  ?

विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाइन्सहरूले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन्। कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन्। नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ। निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ। निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधारण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन्।

Nabintech