२२ बैशाख २०८१, शनिबार
बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा राखियो बालबन्दी

भैरहवाका १३, हेटौडाका १८, पर्साका १५ जना गरी १८ वर्ष माथिका ४६ जना बालबन्दीलाई स्थानान्तरण


  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०८०, शुक्रबार १६:१८

नेपालगञ्ज : बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले नौबस्तास्थित क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा ल्याएको हो ।

सो क्षेत्रीय कारगारमा पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३, हेटौडाबाट १८, पर्साबाट १५ जना गरी १८ वर्षमाथिका ४६ जना बालबन्दीलाई विभिन्न बाल सुधारगृहबाट ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति मागिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बालसुधार गृहमा रहेका १८ वर्षमाथिका ७२ जनालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी गरिएको बताए । उनले त्यसका लागि कारागार विभागबाट अनुमति मागिएको बताए ।

बाँकेको डुडुवामा रहेको बाल सुधारगृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । चार जना भागेकोमा तीन जना अझै सम्पर्कमा आएका छैनन् । त्यहाँ १८ वर्षमाथिका १६५ जना बाल बन्दी छन् ।

देशभरकै कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ ।

Nabintech