२१ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जमा १ सय ५६ बर्षदेखि रामलिला मञ्चन हुदै यस बर्ष पनि निरन्तरता

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०८०, शनिबार २१:०७

नेपालगञ्ज : नेपालगञ्जमा रामलिला मञ्चन संस्कृतिको रुपमा स्थापित भएको छ । घटस्थापनामा सुरु भइ टीकाको भोलिपल्टसम्म चल्ने रामलिला १ सय ५६ वर्षदेखि निरन्तर चलिरहेको छ ।

रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ । त्यही रामलिला मैदानमा यतिबेला भारतको बृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन भइरहेको छ । खाना खाएर रातिमा रामलिला हेर्न जाने यहाँको संस्कृति बनेको छ । राति साढे ८ बजेदेखि ११ बजेसम्म रामलिला मञ्चन भइरहेको छ ।

रामलिला सञ्चालक समितिका प्रबन्धक भरतकिशोर वैश्यले १५६ औँ संस्करणमा रामलिला मञ्चन भइरहेको बताए । रामलिलाका लागि भारतबाट ३५ जना कलाकार ल्याइएको छ ।

सञ्चालक समितिले कलाकारका लागि मात्रै ४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । रामलिला सञ्चालनका लागि अनुमानित १८ लाख खर्च निकालिएको छ । त्यसमा नेपालगञ्ज उपमहानगरपालिकाले ७१ हजार रुपैयाँ दिएको छ । अरु संघ संस्था, व्यक्तिबाट सहयोग संकलन गर्ने क्रम चलिरहेको छ ।

सञ्चालक समितिका प्रबन्धक वैश्यले सबैको साथ र सहयोगमा रामलिला निरन्तर चलिरहेको बताए। रामलिलाले गर्दा यतिबेला रामलिला मैदान झिलिमिली छ । त्यहाँ बजार नै लाग्ने गरेको छ । रामलिलाको पाठ सुन्दै उज्यालो झिलिमिलीमा भक्तजनहरु रमाउने गरेका छन् ।

विगतमा भगवानको पाठसँगै मनोरञ्जनका लागि शुरुवात गरिएको रामलिला यहाँको संस्कृति बनेको हो । अहिले मनोरञ्जनका प्रसस्त साधन भए पनि स्थानीय रामलिलामा झुम्ने गरेका छन् । खाना खाएर डेढ दुई घण्टा संगीतमय भगवानको पाठ सुन्ने स्थानीय बढिरहेका छन् ।

Nabintech