२६ बैशाख २०८१, बुधबार
दशैँमा खानपानमा ध्यान नदिँदा हुन सक्छ ‘फुड प्वाइजनिङ’

  • हेमन्तसिंह साउद

  • ६ कार्तिक २०८०, सोमबार ०६:०७

काठमाडौं : दशैँ भन्ने बित्तिकै मासु खाने पर्वको रुपमा लिने गरिन्छ। प्रायः घरमा दशैँमा मासुका परिकार पाक्ने गर्छ। तर यसरी चाडपर्वका वेला खाइने मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिनुका साथै मासुको यस्ता परिकार बनाउँदा सरसफाइमा ध्यान नदिँदा फुड प्वाइजनिङसमेत हुने सम्भावना हुने गर्छ।

विशेषगरि दशैँमा पकाइने विभिन्न खालका मासुजन्य परिकार, अत्यधिक चिल्ला मसालेदार खानेकुरा, मदिरा र अखाद्य पदार्थ मिसाइएका मिठाईका परिकारको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ। यस्ता खानेकुरा खाँदा तत्काल देखिने स्वास्थ्य समस्यामध्ये फुड प्वाइजनिङ पनि एउटा प्रमुख समस्या हो।

के हो फुड प्वाइजनिङ?

दूषित खाना वा पानीको प्रयोग गर्दा फुड प्वाइजनिङ हुने गर्छ। दूषित खानेकुरामा हुने ब्याक्टेरिया: जस्तै इ-कोली, क्लोस्टृडियम,क्याम्फाइलोब्याक्टर, स्टाफाइलोकोकसका साथै भाइरस-नोरोभाइरस जस्ता भाइरस संक्रमणले फूड प्वाइजनिङ हुने गर्छ।

दशैँका वेला खासगरि मासुको पकाएर लामो समयसम्म राखेर खाने प्रचलन छ। तर यसरी मासुको परिकार पकाएर लामो समयसम्म राखेर खानुभन्दा पनि ताजा मासु खाने गर्नु पर्छ।

यदि मासुको परिकार पकाएर  केही दिन राख्नै परे पनि राम्रोसँग फ्रिजमा राख्नु पर्छ। मासु पोलेर खाने प्रचलन पनि छ तर सकभर पोलेर राम्रोसँग नपाकेको काँचो मासु खानु हुँदैन यस्तो मासुले फुड प्वाइजनिङ निम्ताउने सम्भावना धेरै हुन्छ। अर्कोतर्फ पकाउनुपूर्व सफा पानीले मासु पखाल्ने गर्दा राम्रो हुन्छ।

यस्ता लक्षण देखिए सतर्क हुनु पर्छ

हामीले खाने खानेकुरा तथा पानी दूषित र फोहर छ भन्ने बित्तिकै देखिने पहिलो स्वास्थ्य समस्या नै फुड प्वाइजनिङ हो। फुड प्वाइजनिङका लक्षण पनि सामान्यदेखि जटिलसम्मका हुने गर्छन्।

विशेषगरि काँचो खानेकुरा, लामो समयदेखि पकाएर राखिएका बासी खानेकुरा तथा दूषित पानीको कारण फुड प्वाइजनिङको समस्या हुने गर्छ। यदि दशैँमा हामीले खाने विभिन्न प्रकारका खानेकुरा खाएपछि  पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने‚ ज्वरो.डिहाइड्रेशन जस्ता समस्या देखियो भने फुड प्वाइजनिङ भयो कि भनेर सर्तक हुनु पर्छ।

फुड प्वाइजनिङ भए के गर्ने?

सामान्यतया खानाजन्य कारणले देखिएको फुड प्वाइजनिङ खानपान तथा खानेपानीको  शुद्धतालाई ध्यान दिन सकियो भने विस्तारै आफैँ सन्चो हुने गर्छ तर कसैकसैलाई  अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थासमेत आउन सक्छ।

फुड प्वाइजनिङको समस्या देखिएपछि ​पर्याप्त पानी पिउने (जीवनजल, नुनचिनी पानी) हलुका  पचाउन सकिने खानेकुराहरु सेवन (जाउलो, झोलिलो पदार्थ), प्रोबायोटिक खानेकुरा: जस्तै  मोही (फाइदाजनक जीवाणु हुने भएकाले) जस्ता खानेकुरा खानु पर्छ।

तर क्याफिनयुक्त (चिया, कफी), धेरै पिरो, चिल्लो पदार्थयुक्त खानेकुरा, डेरी उत्पादनहरु खानु हुँदैन।

फुड प्वाइजनिङ हुन नदिन के गर्ने

– व्यक्तिगत सरसफाइमा ध्यान दिने‚

– पर्याप्त पाकेका खानेकुरा मात्र खाने‚

– काँचै खाइने खानेकुराहरु राम्ररी सफा गरेर मात्र खाने‚

– सफा खानेकुरा मात्र खाने‚

– सकेसम्म रातो मासु (खसीबाख्रा) भन्दा सेतो मासु (कुखुरा) खाने‚

– अझ सकेसम्म कुखुराभन्दा माछा खाने‚

– बोतलका जुस, कोल्ड ड्रिंक्स‚ रक्सीभन्दा ताजा जुस, मह‚ कागती र पानी खाने।

– घ्यूभन्दा खाने तेलको उपयोग गर्ने।

 (साउद हेल्थ असिस्टेन्ट हुन्)

 

Nabintech