२६ बैशाख २०८१, बुधबार
बाँके प्रशासनबाट दुर्गा मुर्ति विसर्जनकालागि समयसिमा निर्धारण

ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्विर क्याप्चर गरि अवलोकन गरिने


  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८०, सोमबार १५:०५

नेपालगञ्ज : बाँके प्रशासनले बडादसैंका अर्कोदिन दुर्गा मुर्ति विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मुर्ति विसर्जनको समयसिमा निर्धारण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले एक सूचना जारी गर्दै मुर्ति विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ बजेअघि नै पूजन कार्य समापन गर्न आग्रह गरेका छन् । सूचनामा बिधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसंग समन्वय गरि विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

प्रजिअ पोखरेलले जारी गरेको सूचनामा दुर्गा भवानीको मुर्ती विसर्जन रयाली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवं शौम्य तुल्याउनु अनुरोध गर्दै सांझ ५ बजे अघि नै मुर्ती विसर्जन कार्य सम्पन्न गर्न आग्रह गरिएको छ । समयसिमाले ट्राफिक ब्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले साँझ ५ बजेअघि नै मुर्ति बिसर्जन हुने बातावरण निर्माण गरिदिन  दुर्गा पूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरेका छन् । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको रयाली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा उल्लेख छ ।

बिसर्जन रयालीमा घुसपैठ वा अवान्छित गतिबिधि निस्तेज पार्न र रयालीलाई शान्त र सौहार्द्वपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्विर क्याप्चर गरि अवलोकन गरिने पोखरेलले जनाएका छन् ।

उनले कानून बिपरितका गतिबिधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्विर/भिडिओको आधारमा समेत प्रचलित कानून बमोजिम कडा कारवाही गरिने हुँदा रयालीमा सहभागी सवै भक्तजनहरुले निस्चिन्त भइ मर्यादित ढंगबाट मुिर्त विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध समेत गरेका छन् ।

Nabintech