१६ बैशाख २०८१, आईतवार
आशाको अञ्जुली  

  • प्रेम शर्मा 

  • ९ कार्तिक २०८०, बिहीबार ०८:४२

गोजी रित्तै छ
तन अनि मन रित्तै छ
भद्रगोल चल्दैछ जिन्दगी
माया बोक्ने मुटु रित्तै छ
घर रित्तै छ
गोठ रित्तै छ
बिदेशीय सन्तान जति
ममताको काख रित्तै छ !
छिमेक रित्तै छ
गाउँ  रित्तै छ
गफको उद्योग फस्टाएरै होला
उर्वर खेत अनि वारि रित्तै छ
निधार नखुम्चाउ प्रीय मित्र
मेरो पनि आशाको अञ्जुली रित्तै छ
कोकोहोलोको कर्कश आवाज
सिंदुर पोछिएको सिउदो रित्तै छ !
जोश रित्तै छ
उमंग रित्तै छ
वीरताको विरासत बोक्ने
भक्ती थापाको स्थान  रित्तै छ
अमर, बलभद्र, भिमसेन रोए कि ?
 सपूत जन्माउने कोख रित्तै छ
रत्नकरहरुकै हालीमुहाली चल्छ
साधु सन्तको कुटी रित्तै छ !
उद्यान रित्तै छ
बगैंचा रित्तै छ
मुर्छित छन बैसेलु चाहाना
खुशी हराएको अनुहार रित्तै छ
कठोरताले कुन्ठित प्रदेशी
जवान स्वास्नीको योवन रित्तै छ
भोकमरीले उपद्रो मच्चाउदा
चामल पिठोको भकारी रित्तै छ !
पाटन रित्तै छ
चउर रित्तै छ
स्वार्थमै चल्छन् सम्बन्धहरु
सम्बन्धहरुको मिठास रित्तै छ
आउ न आउ समीप तिमी आउ
आत्मियताको अङ्गालो रित्तै छ
सिद्धान्त मात्रैले कहाँ चल्छ संसार ?
तिम्रो बोलिको व्यबहार रित्तै छ !
Nabintech