४ जेष्ठ २०८१, शुक्रबार
सद्भावको सहर नेपालगञ्जको आधारलाई थप बलियो बनाउने दीर्घकालीन योजना

नयाँ युवापुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु


  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०८०, शनिबार १७:००

नेपालगञ्ज : नेपालगञ्जलाई सामाजिक तथा धार्मिक सहरको रुपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ । सद्भावको सहरको आधारलाई थप बलियो बनाउने दीर्घकालीन योजनाका साथ मुख्य धर्म केन्द्रित नयाँ युवापुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘यो अभियान नेपालगञ्जसँग जोडिएको हुँदा आमनागरिकबाट सहकार्य हुने अपेक्षा प्रशासनको छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले यो अभियानका सन्दर्भमा आम जिल्लाबासीसँग राय सुझाव समेत माग गरिएको जानकारी दिए ।

असोज मध्यमा नेपालगञ्जमा दुई समुदायबीच तिक्तता बढेपछि प्रशासनले भविष्यमा यसखालका घटना नहोस् भनेर दीर्घकालीन सोचका साथ हिन्दु र मुस्लिम धर्ममा आस्था राख्ने अगुवा युवाको सहभागितामा अन्तर संवादमार्फत अघि बढ्ने योजना बनाएको हो ।

नेपालगञ्जमा हिन्दु, मुस्लिमलगायतका विभिन्न धर्मका गुरुको सहभागितामा सद्भाव समिति रहेको छ । सो समितिले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रशासनसँग मिलेर पहलकदमी गर्दैआइरहेको छ । असोजमा दुई समुदायका केही ब्यक्तिबीच देखिएको असमझदारी अन्त्यका लागि समेत धर्मगुरुले अग्रसरता देखाएका थिए ।

असोजमा भएको तनावपछि बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आएका पोखरेलले सामाजिक सद्भावलाई प्राथमिकता दिँदै आएका छन् ।

Nabintech